कातिक २५, सोलुखुम्बु । गत कात्तिक ४ गते रातिदेखि सम्पर्कविहीन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई मृत फेला परेका छन्। सांस्कृतिक कार्यक्रममा सहभागी हुन घरबाट निस्किएका राई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित सुनकोसी नदीको राजदह नजिकै बालुङमारीमा मृत अवस्थामा फेला परेका हुन्।
उनी कात्तिक २४ गते राति मृत फेला परेको प्रहरीले जनाएको छ। नदी किनारमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी च्यास्मीटारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। उँबुबाट रातारात घटनास्थल पुगेका आफन्तले शवको पहिचान गरेको मानेभञ्ज्याङ गाउँपालिका नेपाली कांग्रेसका सभापति हुकुमसिं राईले जानकारी दिनुभयो। प्रख्यातको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट गोताखोरसहितको टोली तथा हर्कपुरस्थित मनसुन प्रतिकार्य अस्थायी सुरक्षा बेसको टोली परिचालन गरिएको थियो।
तर, खोजी गरिएको क्षेत्रभन्दा तल्लो भागमा उनको शव फेला परेको हो। मानेभञ्ज्याङ गाउँपालिका–६ जाक्पामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा जाने भन्दै प्रख्यात कात्तिक ४ गते राति साढे ९ बजे घरबाट निस्किएका थिए। तर, उनी उक्त कार्यक्रममा नपुगेको स्थानीयले बताएका छन्। प्रारम्भिक जानकारीअनुसार उनी बाहुनीडाँडाकी एक युवतीलाई भेट्न जयरामस्थित पुरानो झोलुङ्गे पुल पुगेका थिए। पुलमा पुगेपछि भेट्नका लागि अर्की युवतीलाई मेसेन्जरमार्फत सन्देश पठाएको उनका बुवा प्रकाशहरी क्याम्पा राईले बताउनुभयो। उहाँका अनुसार राति १ बजेर ४३ मिनेटसम्म मेसेन्जरमा सन्देश पठाएको देखिएको थियो। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए।
मानेभञ्ज्याङ गाउँपालिका–६ र हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको सीमामा पर्ने दूधकोसी नदीको जयराम आसपासबाट उनी हराएका थिए। घटनालाई आफन्तले शंकास्पद भन्दै आएका छन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ। मृतक राईको शव पोस्टमार्टमका लागि ओखलढुंगा लैजाने तयारी गरिएको छ।










Discussion about this post