सबिना राई, जेठ ११, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका ५३ वर्षीय लालबहादुर कार्की रहेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार ईन्दिरा खड्काको जाहेरीमा दर्ता भएको वैदेशिक रोजगार ठगी मुद्दामा कार्कीलाई २ वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना तथा बुद्धिमान खातीको जाहेरीमा दर्ता अर्को वैदेशिक रोजगार ठगी मुद्दामा पुनः २ वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना फैसला भएको थियो।
अदालतबाट जम्मा ४ वर्ष कैद र चार लाख रुपैयाँ जरिवाना तोकिएपछि उनी फरार रहेका थिए। लुकीछिपी बसिरहेको अवस्थामा उनलाई जेठ १० गते काठमाडौं महानगरपालिका–६ बौद्ध क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी प्रभाग कपन काठमाडौंको समन्वयमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको टोलीले कार्कीलाई नियन्त्रणमा लिएको हो।
पक्राउपछि उनलाई जेठ ११ गते जिल्ला अदालत सोलुखुम्बुमा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार कैद तथा जरिवाना भुक्तानीका लागि कार्कीलाई कारागार कार्यालय सोलुखुम्बु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो।










Discussion about this post