सबिना राई, जेठ १२, सोलुखुम्बु । गत वर्षको थामे बाढीपछि जोखिममा परेको खुम्बु क्षेत्रका बस्ती संरक्षणका लागि दुधकोशी नदी किनारमा तटबन्ध (ग्याबिन वाल) निर्माण कार्य सम्पन्न गरिएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ३ अन्तर्गत जोरसल्ले बस्ती संरक्षणका लागि निर्माण गरिएको उक्त योजना स्थानीय उपभोक्ता समिति मार्फत निर्माण कार्य सम्पन्न गरिएको हो ।
थामे क्षेत्रमा आएको बाढीका कारण दुधकोशी नदी आसपासका बस्ती उच्च जोखिममा परेपछि गाउँपालिकाले विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८२/८३ मा विपद् व्यवस्थापन कोषबाट ५४ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त योजनामा स्थानीयवासीको समेत सक्रिय सहभागिता रहेको छ। उपभोक्ता समितिका अध्यक्ष पेम्बा दोर्जि शेर्पाका अनुसार स्थानीय उपभोक्ताबाट ६ लाख ९ हजार ७८१ रुपैयाँ बराबरको जनश्रमदान जुटाइएको थियो।
स्थानीयको श्रम सहभागिताले योजना प्रभावकारी र समुदायमैत्री बनेको उहाँको भनाइ छ। निर्माण सम्पन्न भएसँगै जोरसल्ले बस्ती तथा आसपासका संरचनालाई नदी कटान र सम्भावित बाढीजन्य जोखिमबाट राहत पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ। थामे बाढीपछि खुम्बु क्षेत्रमा नदी नियन्त्रण तथा बस्ती संरक्षणका योजना आवश्यक बनेकाले आगामी दिनमा थप दीर्घकालीन संरचना निर्माणमा समेत जोड दिइने स्थानीय तहले जनाएको छ।
स्थानीयवासीले तटबन्ध निर्माणलाई समयानुकूल र आवश्यक कदमको रूपमा स्वागत गरेका छन्। उनीहरूका अनुसार दुधकोशी नदीको कटानले वर्षेनी बस्तीमा त्रास सिर्जना गर्दै आएको थियो। अहिले निर्माण गरिएको ग्याबिन वालले बस्ती सुरक्षामा टेवा पुग्ने छ ।










Discussion about this post