सोलुखुम्बु, असार २० । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लिला कुमारी केसी पाण्डेको सरुवा भएको छ। गृह मन्त्रालयको असार १९ गतेको निर्णयअनुसार उहाँलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाइएको हो।
सिडिओ पाण्डेको सरुवासँगै सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी कमानसिं थापा मगरलाई दिइएको छ। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा कार्यरत थापा मगरलाई सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा उपसचिवसहित राजपत्राङ्कित द्वितीय श्रेणीका ४२ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो। मन्त्रालयको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।
सरुवाअन्तर्गत १० जना प्रमुख जिल्ला अधिकारीलाई सहायक प्रमुख जिल्ला अधिकारी तथा अन्य निकायमा खटाइएको छ भने कार्यसम्पादनका आधारमा केही सहायक प्रमुख जिल्ला अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्रदान गरिएको मन्त्रालय स्रोतले जनाएको छ । यसैक्रममा जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपीला राईलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
गृह मन्त्रालयले प्रशासनिक नेतृत्वलाई थप प्रभावकारी र परिणाममुखी बनाउन सरुवा तथा पदस्थापन गरिएको जनाएको छ । नवनियुक्त प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरले सोलुखुम्बुको शान्ति सुरक्षा, सेवा प्रवाह तथा सुशासन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्ने अपेक्षा गरिएको छ।










Discussion about this post