साउन ८, साेलुखुम्बु । गएको आर्थिक वर्ष २०८२÷८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार एक वर्षमा १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका हुन् । यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा ७ दशमलव २१ प्रतिशतले धेरै हो ।
आर्थिक वर्ष २०८१÷८२ मा ११ लाख २८ हजार जना पर्यटन हवाइ मार्गबाट नेपाल आएका थिए । गएको आर्थिक वर्ष नेपाल आउने पर्यटकमध्ये २५ दशमलव ७६ प्रतिशत अर्थात् तीन लाख ११ हजार ५३१ जना भारतीय नागरिक हुन् । भारतपछि अमेरिकाबाट एक लाख ११ हजार ३२५ र चीनबाट एक लाख नौ हजार ८९२ जना पर्यटक नेपाल आएका छन् । बोर्डको तथ्याङ्कअनुसार पर्यटकीय सिजन मानिने कात्तिकमा सबैभन्दा बढी एक लाख २४ हजार ८२९ जना पर्यटक नेपाल आएका छन् ।
यस्तै, चैतमा एक लाख १९ हजार, फागुनमा एक लाख १४ हजार र असोजमा एक लाख ११ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका थिए । सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरेर तयारी समेत अघि बढाएको कारण आउँदो चालु वर्ष पर्यटक संख्या बढ्ने अपेक्षा छ । बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्र्याउने, उनीहरूको बसाइ अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउनेतर्फ केन्द्रित हुने जनाएको छ ।











Discussion about this post