साउन ९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले काठमाडौंमा अस्थायी रूपमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी सञ्चालन गरेको दुई दिने एकीकृत सेवा शिविरबाट ३ हजार १ सय ५७ जना नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । साउन ७ र ८ गते कपन स्थित रामनगर पार्टी प्यालेसमा सञ्चालन गरिएको शिविर अध्ययन, रोजगारी, व्यवसाय तथा अन्य विभिन्न कारणले काठमाडौंमा बस्दै आएका नगरपालिकाका करिब १० प्रतिशत नागरिकलाई सहज, छिटोछरितो र झन्झटमुक्त सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाका अनुसार नागरिकलाई सेवा लिन गाउँसम्म पुग्नुपर्ने बाध्यता अन्त्य गर्दै उनीहरू बसोबास गरिरहेको स्थानमै सरकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित शिविर सञ्चालन गरिएको थियो । सेवाको प्रभावकारी व्यवस्थापनका लागि नगर प्रमुखसहित सम्पूर्ण जनप्रतिनिधि, ११ वटै वडाका प्रतिनिधि तथा आवश्यक कर्मचारीहरूको टोली काठमाडौं पुगेका थिए । नगरपालिकाका अनुसार १ हजार ६ सय ८८ जनाले भूमिकर दाखिला गरेका छन् । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ८ सय १३ जनाले ज्येष्ठ नागरिक, एकल महिला लगायतका भत्ताको नवीकरण गराएका छन् भने २७ जनाले नयाँ दर्ता गरेका छन् ।
यसैगरी, २ सय १० जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । व्यक्तिगत घटना दर्तासम्बन्धी १ सय ९५ वटा सेवा सम्पन्न गरिएको छ भने विभिन्न प्रकृतिका २ सय ७ वटा सिफारिस प्रदान गरिएको छ । साथै, १५ वटा सिफारिस प्रमाणीकरण तथा २ वटा व्यवसाय नवीकरणसम्बन्धी सेवा पनि शिविरबाटै प्रदान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नागरिकको घरदैलोमै सेवा पुर्याउने अवधारणाअनुसार सञ्चालन गरेको शिविरबाट सेवा प्रवाह मात्र नभई उल्लेखनीय आन्तरिक राजस्वसमेत संकलन भएको छ ।
आधिकारिक विवरणअनुसार भूमिकर तथा अन्य सेवा शुल्कमार्फत कुल ८ लाख ५४ हजार ५ सय २ रुपैयाँ राजस्व संकलन भएको छ । काठमाडौंमा बसोबास गरिरहेका सोलुदुधकुण्ड नगरपालिकाका नागरिकलाई गाउँसम्म पुग्नुपर्ने झन्झट र आर्थिक भार कम गर्दै एउटै स्थानबाट छिटो, सहज र प्रभावकारी रूपमा स्थानीय तहका सेवा उपलब्ध गराउने तथा सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने उद्देश्यले एकीकृत सेवा शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।











Discussion about this post