साउन ९, सोलुखुम्बु । खोटाङको साकेला गाउँपालिका वडा नम्बर १ सेखुवाबाट प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार साउन ८ गते दिउँसो २ बजे उर्गेन राईले आफ्नै घरमा अवैध रूपमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरीले सेखुवा निवासी भोटबहादुर राईका २८ वर्षीय छोरा उर्गेन राई र प्रेमकुमार राईका २४ वर्षीय छोरा दिपेन राईलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा उर्गेन राईको घरदेखि करिब ३० मिटर उत्तरतर्फ रहेको निजकै जग्गामा बनमाराको झाडीभित्र लुकाइराखिएको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी रातो प्लास्टिकभित्र सेतो कागजले बेरिएका पाँच थान फलामका टुक्रा, बारुद जस्तो देखिने कालो धुलो पदार्थ, अर्को बट्टाभित्र राखिएको बारुद जस्तो देखिने कालो धुलो पदार्थ तथा ‘तिर’ लेखिएको प्याकेटभित्र काटीसहितका तीन थान सलाईका प्याकेटसमेत प्रहरीले बरामद गरेको छ ।
बरामद भएका सामग्री दशीका रूपमा सुरक्षित राखी दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक प्रकाश बुढाथोकीका अनुसार पक्राउ परेका उर्गेन राई र दिपेन राईविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा खोटाङ जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।










Discussion about this post