साउन १०, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय खोटाङले असार महिनाका लागि प्रहरी निरीक्षक विजय लामिछानेलाई ‘पोलिस अफ द मन्थ’ घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी निरीक्षक लामिछानेले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना, व्यावसायिकता, लगनशीलता तथा कर्तव्यनिष्ठाका साथ उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनपछि उक्त सम्मान प्रदान गरिएको हो ।
कार्यालयका अनुसार २०८३ असार १५ गते जन्तेढुंगा गाउँपालिका–५, छेवाखानीडाँडा क्षेत्रमा सञ्चालन गरिएको प्रहरी कारबाहीका क्रममा भरुवा बन्दुक १ थान, सेतो डब्बाभित्र राखिएको फलामको टुक्रा १४५ वटा, गोलो आकारका फलामका टुक्रा ४ वटा तथा सेतो रङको फलामको टुक्रा १ वटा बरामद गरिएको थियो । घटनामा संलग्न दुई जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक लामिछानेले अपराध नियन्त्रण तथा अनुसन्धानका साथै आम नागरिकमा शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रभावकारी भूमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ । यही कार्यसम्पादनका आधारमा उहाँलाई असार महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको कार्यालयले जनाएको छ । प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी निरीक्षक लामिछानेलाई बधाई दिँदै आगामी दिनमा पनि नागरिकमुखी र प्रभावकारी प्रहरी सेवा प्रवाहमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।










Discussion about this post