साउन १०, सोलखुम्बु । एमभी दुगर समूहद्वारा सञ्चालित लिखु नदी क्षेत्रका जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीयले आफ्ना अधिकार र न्यायको माग गर्दै शनिबार काठमाडौंको माइतीघर क्षेत्रमा बृहत् विरोध प्रदर्शन तथा शान्तिपूर्ण धर्ना गरेका छन् । प्रदर्शनमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्न्ेत तथा वडा नं. २ का वडाध्यक्ष मणिराज बस्नेत समेत सहभागी भई प्रभावित नागरिकको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।
प्रदर्शनकारीहरूले आयोजनाबाट प्रभावित नागरिकलाई प्राथमिक सेयर सुनिश्चित गर्नुपर्ने, स्थानीयमाथि लगाइएका मुद्दा फिर्ता लिनुपर्ने, प्रहरी दमन रोक्नुपर्ने र आयोजनासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने माग राखेका छन् । उनीहरूले विकास आयोजनाले स्थानीयको अधिकार, वातावरणीय प्रभाव र सामाजिक न्यायलाई बेवास्ता गर्न नहुने बताएका छन् । एमभी दुगर समूहले लिखु नदी क्षेत्रमा लिखु–१, लिखु–२ र लिखु–ए लगायतका जलविद्युत् आयोजना अघि बढाएको छ ।
यी आयोजनाबाट सोलुखुम्बुको लिखुपिके गाउँपालिका तथा रामेछापको उमाकुण्ड गाउँपालिकाका विभिन्न क्षेत्र प्रभावित भएको जनाइएको छ । स्थानीयको मुख्य असन्तुष्टि आयोजनाबाट प्राप्त हुने लाभमा प्रभावित समुदायको पहुँच, वातावरणीय असर, क्षतिपूर्ति तथा विगतका सहमति कार्यान्वयनसँग जोडिएको छ ।
प्रभावित पक्षले आयोजनाले स्थानीयलाई उचित हिस्सा र अधिकार सुनिश्चित नगरेसम्म संघर्ष जारी राख्ने चेतावनी दिएका छन् । यसअघि पनि लिखु नदी क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजनाका कारण स्थानीयको जीविकोपार्जन, प्राकृतिक स्रोत र सामाजिक अधिकारमा असर परेको भन्दै प्रभावित समुदायले आवाज उठाउँदै आएका छन् ।










Discussion about this post