साउन १२, सोलुखुम्बु । सोलुखुम्बुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीबीच विपद् उद्धार सामग्रीको प्रभावकारी प्रयोगसम्बन्धी संयुक्त ज्ञान तथा सीप आदानप्रदान गरिएको छ । विपद् तथा आकस्मिक घटनामा उद्धार कार्यलाई अझ प्रभावकारी, सुरक्षित र समन्वयात्मक बनाउने उद्देश्यले उक्त ज्ञान तथा सीप आदानप्रदान गरिएको हो ।
कार्यक्रममा विपद् तथा आकस्मिक घटनाका समयमा प्रयोग हुने विभिन्न उद्धार सामग्रीको परिचालन, सुरक्षित तथा प्रभावकारी प्रयोग विधि, उद्धार कार्यका क्रममा अपनाउनुपर्ने सावधानी तथा आपसी समन्वयका विषयमा व्यावहारिक ज्ञान, सीप र अनुभव आदानप्रदान गरिएको थियो ।
प्रहरी निरीक्षक मौसम तामाङका अनुसार यस्ता संयुक्त अभ्यासले विपद् व्यवस्थापनका क्रममा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउनुका साथै दुवै सुरक्षा निकायबीचको समन्वय, दक्षता र कार्यसम्पादन क्षमतामा समेत उल्लेखनीय वृद्धि गर्ने अपेक्षा गरिएको छ । उहाँले विपद्का समयमा छिटो, सुरक्षित र प्रभावकारी उद्धार सेवा प्रवाहका लागि सुरक्षा निकायबीच नियमित रूपमा यस्ता संयुक्त कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।











Discussion about this post