साउन १२, सोलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिकाले गाउँपालिकावासीलाई लक्षित गर्दै काठमाडौंमा तीनदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ । वर्षायाममा काठमाडौंबाट गाउँपालिकासम्म जोखिमपूर्ण यात्रा गरेर सेवा लिनुपर्ने बाध्यता कम गर्न तथा विशेषगरी अशक्त, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार शिविर साउन १८, १९ र २० गते शेर्पा सेवा केन्द्रस्थित शेर्पा गुम्बामा सञ्चालन हुनेछ । शिविरमार्फत सामाजिक सुरक्षा भत्ता दर्ता तथा बायोमेट्रिक प्रमाणीकरण, विभिन्न प्रकारका नागरिक पञ्जीकरण सेवा, राष्ट्रिय परिचयपत्र वितरण तथा वडा कार्यालयबाट प्रदान गरिने अन्य सबै प्रकारका सेवाहरू उपलब्ध गराइने जनाइएको छ ।
गाउँपालिकाले काठमाडौं तथा आसपास क्षेत्रमा बसोबास गर्ने लिखु पिके गाउँपालिकावासीलाई आवश्यक कागजातसहित उपस्थित भई सेवा लिन आग्रह गरेको छ । गाउँपालिकाले यस कार्यक्रमले नागरिकलाई समय, खर्च र जोखिमपूर्ण यात्राबाट राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।










Discussion about this post