भदौ ३, सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा निधन भएका सोलुखुम्बुका गोपाल बस्नेतको शव तत्काल नेपाल ल्याउने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले सोलुखुम्बुको सोताङ गाउँपालिका–५ निवासी ३४ वर्षीय बस्नेत वैदेशिक रोजगारीका लागि क्रोएसिया पुगेको जानकारी गराउनुभयो । उहाँ क्रोएसियास्थित मेड भेट ग्रेड कम्पनीमा कामदारका रूपमा कार्यरत रहनुभएको थियो।
सांसद कार्कीका अनुसार बस्नेतको २०८३ साल साउन ३० गते क्रोएसियामा दुःखद निधन भएको हो । उहाँले बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो । विदेशी भूमिमा निधन भएका नेपालीको शव स्वदेश ल्याउनु राज्यको दायित्व भएको उल्लेख गर्दै सांसद कार्कीले बस्नेतको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले नेपाली दूतावास, वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयबीच तत्काल समन्वय गरी परिवारलाई आर्थिक तथा प्रशासनिक झन्झट नहुने गरी शव नेपाल ल्याउने व्यवस्था मिलाउन माग गर्नुभयो । त्यसैगरी बस्नेतको मृत्युको वास्तविक कारण पत्ता लगाउने, बिमा तथा वैदेशिक रोजगारसम्बन्धी कानुनअनुसार परिवारले पाउनुपर्ने सम्पूर्ण सुविधा उपलब्ध गराउने विषयमा समेत सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।










Discussion about this post