भदौ ४, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सञ्चालन गरेको विद्यालय सचेतनामूलक कार्यक्रमबाट जिल्लाका४ हजार ७२७ जना विद्यार्थी लाभान्वित भएका छन् । जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न विद्यालयमा सञ्चालन गरेको सचेतनामूलक कार्यक्रममा १ सय ४ विद्यालयका विद्यार्थी सहभागी भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी निर्मल थापाका अनुसार कार्यक्रममा कक्षा ७ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई सहभागी गराइएको थियो । कार्यक्रममा १२ देखि २० वर्ष उमेर समूहका विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीलाई आत्महत्या रोकथाम, लागुऔषधको दुरुपयोग, साइबर अपराध, बाल अधिकार तथा लैङ्गिक हिंसालगायतका विषयमा जानकारी दिइएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
विद्यालय तहका विद्यार्थीलाई विभिन्न सामाजिक तथा आपराधिक गतिविधिबाट जोगाउन र उनीहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । विद्यालयमा हुने यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीलाई अपराध तथा हिंसाका जोखिम पहिचान गर्न, सुरक्षित व्यवहार अपनाउन र आफ्ना अधिकारबारे जानकारी लिन सहयोग पुग्ने जनाइएको छ ।











Discussion about this post