भदौ ४, सोलुखुम्बु । आगामी जनैपूर्णिमाका अवसरमा सोलुखुम्बुको धार्मिक तथा पर्यटकीयस्थल दूधकुण्ड पोखरीमा लाग्ने मेलालाई लक्षित गर्दै उच्च हिमाली क्षेत्रमा यात्रा गर्ने तीर्थयात्रीलाई स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । दूधकुण्ड पोखरी समुद्री सतहबाट करिब ४ हजार ६ सय मिटरको उचाइमा रहेकाले त्यहाँ पुग्दा वायुमण्डलमा अक्सिजनको मात्रा कम हुने र त्यसका कारण उच्च उचाइसम्बन्धी स्वास्थ्य समस्या देखिन सक्ने सोलु सामुदायिक अस्पतालका प्रमुख डा. राजेन्द्र बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार उच्च हिमाली क्षेत्रमा पुग्दा टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, छिटो थकान लाग्ने, वाकवाकी लाग्ने, उल्टी होला जस्तो हुने तथा रिँगटा लाग्ने जस्ता लक्षण देखिन सक्छन्। यस्ता लक्षणलाई सामान्य रूपमा नलिई तत्काल यात्रा रोक्न वा केही तल झरेर आराम गर्न उहाँले आग्रह गर्नुभएको छ । समयमै सावधानी नअपनाई लक्षण देखिँदादेखिँदै थप उचाइतर्फ जाँदा अवस्था गम्भीर बन्न सक्ने उहाँको भनाइ छ। उच्च उचाइमा अक्सिजनको कमीका कारण फोक्सोमा समस्या देखिनुका साथै गम्भीर अवस्थामा मस्तिष्कमा समेत असर पर्न सक्ने चिकित्सकले बताएका छन् ।
विशेषगरी दम, मुटुसम्बन्धी समस्या वा अन्य दीर्घरोग भएका व्यक्तिले उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा थप जोखिम हुने भएकाले सकेसम्म चिकित्सकीय परामर्श लिएर मात्र यात्रा गर्न डा. बस्नेतको सुझाव छ । आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा एसिटाजोलामाइडजस्ता औषधि प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । दूधकुण्ड मेलामा जाने तीर्थयात्रीले शरीरमा पानीको कमी हुन नदिन पर्याप्त मात्रामा झोलिलो पदार्थ तथा पानी सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ ।
शरीरलाई न्यानो राख्नुपर्ने र अत्यधिक शारीरिक श्रमबाट बच्नुपर्ने उहाँले बताउनुभयो । लसुन, टिमुरलगायत घरेलु उपायले लेक लाग्ने समस्या कम गर्छ भन्ने जनविश्वास रहे पनि यस्ता उपायलाई चिकित्सकीय उपचारको विकल्पका रूपमा लिन नहुने उहाँको भनाइ छ ।
जनैपूर्णिमा तथा दूधकुण्ड मेलामा धार्मिक आस्थाका कारण कतिपय तीर्थयात्री व्रत बसेर यात्रा गर्ने गरेकामा चिकित्सकले भने उच्च हिमाली क्षेत्रमा व्रत बसेर यात्रा नगर्न सुझाव दिएका छन् । सामान्य अवस्थामा चिकित्सकीय निगरानी र उपयुक्त अवस्थासहित गरिने ‘इन्टरमिटेन्ट फास्टिङ’का केही स्वास्थ्य लाभ हुन सक्ने भए पनि उच्च हिमाली क्षेत्रमा लामो पैदल यात्रा गर्दा व्रत बस्नु जोखिमपूर्ण हुने डा. बस्नेतले बताउनुभयो ।











Discussion about this post