भदौ ४, सोलुखुम्बु । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले सांसदका रूपमा प्राप्त हुने तलब तथा सेवा–सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने घोषणा गर्नुभएको छ । काठमाडौँमा महाकुलुङ गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय अगुवासँग भएको छलफलका क्रममा बोल्दै सांसद कार्कीले आफूले प्राप्त गर्ने तलब तथा सेवा–सुविधाको रकम छुट्टै बैंक खातामा जम्मा गर्न थालेको जानकारी दिनुभयो ।
निर्वाचनका क्रममा आफूले सांसदका रूपमा प्राप्त गर्ने सुविधा व्यक्तिगत रूपमा प्रयोग नगर्ने र उक्त रकम सोलुखुम्बुवासीको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै उहाँले सोही प्रतिबद्धताअनुसार रकम छुट्टै खातामा राख्न थालेको बताउनुभयो। सांसद कार्कीले आफूले सांसदको सेवा–सुविधाबाट व्यक्तिगत रूपमा एक कप चियासमेत नखाने बताउँदै उक्त रकम जिल्लाका नागरिकको हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँका अनुसार सांसदको तलब तथा सुविधाबाट जम्मा हुने रकमलाई पारदर्शी रूपमा जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा उपयोग गरिनेछ । स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा रकम खर्च गर्ने उहाँको भनाइ छ । सांसद कार्कीले जनप्रतिनिधिले राज्यबाट प्राप्त गर्ने सेवा–सुविधालाई व्यक्तिगत लाभभन्दा जनताको हितमा प्रयोग गर्नुपर्ने धारणा राख्दै आफूले गरेको प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्न थालेको बताउनुभयो। सोलुखुम्बुको शिक्षा र स्वास्थ्य क्षेत्रमा अझै पनि थप लगानी र सुधारको आवश्यकता रहेको भन्दै उहाँले आफ्नो तर्फबाट प्राप्त हुने रकम त्यसै क्षेत्रमा परिचालन गर्ने बताउनुभयो ।










Discussion about this post