भदौ ८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका गाउँपालिकाका नागरिकलाई लक्षित गरी सेवा प्रवाह शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले विभिन्न सरकारी सेवा लिन गाउँमै पुग्नुपर्ने बाध्यता हटाउँदै उपत्यकामै एकीकृत रूपमा सेवा उपलब्ध गराउन लागेको हो ।
गाउँपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार भदौ १४ र १५ गते काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म शिविर सञ्चालन हुनेछ । शिविरमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमि कर सङ्कलन र विभिन्न प्रकारका व्यक्तिगत घटना दर्तासम्बन्धी सेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्धविच्छेदलगायतका घटना दर्ताको सेवा शिविरबाटै प्रदान गरिनेछ । त्यस्तै, राष्ट्रिय परिचयपत्रको कार्ड वितरण, ज्येष्ठ नागरिक परिचयपत्र तथा वडा कार्यालयबाट प्रदान गरिने सिफारिससमेत शिविरबाट उपलब्ध गराइनेछ । गाउँपालिकाका अनुसार राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाअन्तर्गत २०८० सालभन्दा अगाडि शिविर तथा जिल्ला प्रशासन कार्यालयबाट विवरण दर्ता गराएका नागरिकलाई कार्ड वितरण गरिनेछ ।
मिर्गौला प्रत्यारोपण गरेका, नियमित डायलाइसिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षाघात भएका बिरामीलाई औषधि उपचार खर्चबापत मासिक पाँच हजार रुपियाँ पाउने सेवाग्राहीको नवीकरणसम्बन्धी सेवा पनि शिविरमा उपलब्ध हुने सूचनामा उल्लेख छ । गाउँपालिकाले काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा अस्थायी रूपमा बसोबास गरिरहेका नेचासल्यानवासीलाई शिविरमा सहभागी भई सेवा लिन आग्रह गरेको छ ।











Discussion about this post