सबिना राई, सोलुखुम्बु । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि बाढी प्रभावित क्षेत्रमा रहेका सोलुखुम्बुका विभिन्न स्थानीय तहका २० जना सम्पर्कविहीन भएको खबर प्राप्त भएको छ । बाढीका कारण सञ्चार तथा आवतजावतमा समस्या उत्पन्न भएकाले उनीहरूको अवस्थाबारे हालसम्म यकिन जानकारी प्राप्त हुन नसकेको जनाइएको छ । सम्पर्कविहीन हुनेमा सोलुदूधकुण्ड नगरपालिका–१ का भुपाल बुर्ज मगर, वडा नं ८ का धनबहादुर तामाङ, सुरेश मगर र अनिस मगर रहेका छन् ।
यस्तै, सोलुदूधकुण्ड नगरपालिका–१० का पासाङ काजी तामाङ, दोर्जी तामाङ, रोजीत तामाङ, पासाङ तामाङ, छिरिङ तामाङ, सगर तामाङ र रिन्जी तामाङ सम्पर्कविहीन रहेको जनाइएको छ । थुलुङ दूधकौशी गाउँपालिका–काँगेलका बाबुराम खत्री, लिखुपिके गाउँपालिका–५ का ङिमा शेर्पा र अर्जुन भुजेल, सोताङका अम्बिर नछिरिङ तथा माप्य दूधकोशी गाउँपालिका–१ का नुरू जाङ्बु शेर्पा पनि सम्पर्कविहीन रहेको बताइएको छ ।
त्यसैगरी माप्य दूधकोशी गाउँपालिका–२ का तुलाबहादुर मगर, हर्कबहादुर मगर र प्रकाश राना मगर, वडा नं। ४ का ओमनाथ राई तथा ओखलढुंगाका बुद्धि तामाङको पनि हालसम्म परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेको जनाइएको छ । यसैबीच, रसुवाको बाढी तथा पहिरोपछि हाईड्रो पवारमा कामका सिलसिलामा पुगेका लिखुपिके गाउँपालिका–५ का ङिमा शेर्पा र अर्जुन भुजेलको खोजीका लागि परिवारले समेत सहयोगको अपिल गरेका छन् ।
बाढीपहिरोका कारण सञ्चार सम्पर्क अवरुद्ध हुँदा उनीहरूको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको परिवारजनले बताएका छन् । सम्पर्कविहीन भनिएका व्यक्तिहरूलाई उक्त क्षेत्रमा कसैले देखेको, भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी पाएको भए तत्काल सम्बन्धित परिवार तथा आफन्तलाई जानकारी गराउन अनुरोध गरिएको छ । साथै, सोलुखुम्बुबाट विभिन्न पेशा, व्यवसाय वा यात्राका क्रममा भोटेकोशी आसपासको क्षेत्रमा पुगेका र हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेका अन्य व्यक्तिका बारेमा जानकारी भए पनि उपलब्ध गराउन आग्रह गरिएको छ ।
सम्पर्कविहीन सबै व्यक्ति सकुशल रहेको सुखद् खबरको प्रतीक्षा गरिएको परिवारजनले बताएका छन् । बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिको खोजी तथा उद्धार कार्यमा सहयोग पुग्ने गरी प्राप्त सूचना सम्बन्धित निकाय र परिवारसम्म तत्काल पुर्याउन आग्रह गरिएको छ ।










Discussion about this post