भदौ ११, सोलुखुम्बु । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि माथिल्लो भोटेकोशी क्षेत्रमा बाढीको जोखिम अझै कायमै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेको जनाएको हो। तालको अवस्था सामान्य भइनसकेकाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा जुनसुकै बेला थप पानीको बहाव बढ्न सक्ने जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ। महाशाखाले नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
साथै, अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन र नदी किनारमा नजानसमेत अनुरोध गरिएको छ। घटनाको समयक्रमअनुसार भदौ १० गते बिहान ८ः३७ बजे ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि बिहान ८ः५० बजेदेखि भोटेकोशीको स्याफ्रुबेँसीस्थित जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो। बिहान ९ः०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएपछि महाशाखाले तत्काल तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना तथा सतर्कता सन्देश प्रवाह गरेको जनाएको छ। प्रतिवेदनअनुसार बाढी बिहान १०ः२८ बजे धादिङको गल्छी आसपास पुगेको थियो भने ११ः५० बजे मलेखु बजार र दिउँसो १ बजे मुग्लिङ पार गरेको थियो।
बाढी दिउँसो ३ः२० बजे चितवनको देवघाट क्षेत्रमा पुगेको महाशाखाले जनाएको छ। बाढीको तीव्र बहावका कारण रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखुमा रहेका जलमापन केन्द्रका उपकरणहरू बगाएको प्रतिवेदनमा उल्लेख छ। उपकरणहरू बगाएपछि ती स्थानको यकिन जलसतह तथा बहावसम्बन्धी तथ्याङ्क प्राप्त हुन सकेको छैन। यद्यपि, धादिङको कालीखोला जलमापन केन्द्रमा दिउँसो २ः१४ बजे जलसतहले १२ दशमलव १ मिटरको खतराको तह पार गरेको थियो।
उक्त केन्द्रमा जलसतह अधिकतम १२ दशमलव ३ मिटरसम्म पुगेको रेकर्ड गरिएको छ। महाशाखाले तिब्बततर्फ नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा सामान्य अवस्थामा नआएको भन्दै भोटेकोशी–त्रिशूली नदी प्रणालीमा थप बाढी आउन सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको छ। नदी तटीय क्षेत्रका बासिन्दाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न र सरकारी निकायबाट जारी हुने सूचनालाई मात्र आधार बनाउन आग्रह गरिएको छ।










Discussion about this post