भदौ ११, सोलुखुम्बु । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले बाढी पीडितको उद्धार, राहत तथा पुनस्थापनका लागि आफ्ना कर्मचारीहरूको तीन दिन बराबरको तलब कट्टा गरी सहयोग गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ गाउँपालिका कार्यालय तथा मातहतका कार्यालयहरू (वडा कार्यालय र स्वास्थ्य संस्था) मा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको तलबभत्ताबाट तीन दिन बराबरको रकम कट्टा गर्ने सर्वसम्मत निर्णय गरेको हो।
उक्त रकम नेपाल सरकारको आधिकारिक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा उपलब्ध गराइनेछ । बैठकले बाढीका कारण पुगेको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार, राहत तथा पुनस्थापन कार्यमा खटिने सुरक्षाकर्मी, स्थानीय नागरिक, स्वयंसेवक र सम्बद्ध निकायहरूलाई धन्यवाद ज्ञापनसमेत गरिएको छ ।











Discussion about this post