भदौ १२, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले रसुवा जिल्लाको भोटेकोशी र त्रिशूली नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष एवं पालिकास्तरीय विपद् व्यवस्थापन समितिका संयोजक मिना कार्की बस्नेतको अध्यक्षतामा भदौ ११ गते बसेको बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै, बाढीमा परी सम्पर्कविहीन भएका लिखुपिके गाउँपालिकाका नागरिकको खोज तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषबाट जनही ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णयसमेत गरिएको छ ।
गाउँपालिकाले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोज तथा उद्धार र प्रभावितको पुनःस्थापनाका लागि आवश्यक सहयोग तथा समन्वयमा ऐक्यबद्धता जनाइएको गाउँपालिकाले जनाएको छ । बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले विपद्को यस घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न सम्बन्धित निकाय तथा सरोकारवालालाई समेत आग्रह गरेको छ ।











Discussion about this post