भदौ १२, सोलुखुम्बु । देशभर नव यज्ञोपवीत (जनै) तथा रक्षाबन्धन धारण गरी आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ तथा पोखरीमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँधेर पर्व मनाउने गर्छन् । धार्मिक परम्पराअनुसार गुरु–पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत तथा रक्षासूत्र धारण गर्दा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने विश्वास छ ।
मानव रक्षाका लागि जप, तप तथा पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारणसहित ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने चलन छ । जनैपूर्णिमाका दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले नयाँ जनै फेर्ने विधान रहेको छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो भएर बस्ने परम्परा छ । पूर्णिमाको बिहान नदी, पोखरी, ताल, तलाउ तथा कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका प्रयोग गरी स्नान गर्ने गरिन्छ । स्नानपछि जौ, तिल तथा कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक विधिबाट मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गरिन्छ ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा तथा तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणी समेत भनिन्छ ।वैदिक गुरु परम्परामा यज्ञोपवीतलाई ब्रह्मसूत्र तथा ज्ञानको धागोका रूपमा समेत लिइन्छ । जनै तथा रक्षासूत्र धारण गर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनारलगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । जनैपूर्णिमाको अर्को विशेषता क्वाँटी खाने परम्परा पनि हो ।
विभिन्न प्रकारका गेडागुडी मिसाएर भिजाई टुसा उमारेर तयार पारिएको क्वाँटी खाने चलन छ । क्वाँटी खाँदा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने, पाचन प्रणालीलाई फाइदा पुग्ने तथा वर्षायाममा शरीरमा जमेको चिसो हटाउन सहयोग गर्ने धार्मिक तथा आयुर्वेदिक मान्यता छ । यस्तै, नेपालको तराई क्षेत्रमा जनैपूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर पर्व मनाउने गर्छन् । राखी बाँध्दा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्ध अझ बलियो हुने सामाजिक विश्वास छ । पछिल्लो समय राखी बाँध्ने परम्परा पहाडी क्षेत्रमा समेत विस्तार हुँदै गएको छ ।











Discussion about this post