भदौ १३, सोलुखुम्बु । रोजगारी, व्यवसाय तथा भ्रमणका सिलसिलामा रसुवा लगायतका बाढी प्रभावित क्षेत्रमा पुगेका खोटाङका १० जना नागरिक हालसम्म परिवार र आफन्तसँग सम्पर्कविहीन भएका छन् । प्राकृतिक विपद्का कारण बाढी प्रभावित क्षेत्रमा सञ्चार र यातायात सेवा अवरुद्ध हुँदा उनीहरू परिवारको सम्पर्कमा आउन नसकेका हुन् । सम्पर्कविहीन हुनेमा ट्रेकिङ तथा टुरिस्ट गाइड, सवारी चालक, जलविद्युत् आयोजना तथा सुरुङमार्गमा कार्यरत मजदुरदेखि नेपाली सेनामा कार्यरत सुरक्षाकर्मीसम्म रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सुर्जबहादुर परियार, पवन खत्री दाहाल, कबिन राई र रुपेश परियार सम्पर्कविहीन छन् । यस्तै, ऐसेलुखर्क गाउँपालिकाका बालकुमार तामाङ, युवराज राई र यसबहादुर राई तथा हलेसी तुवाचुङ नगरपालिकाका बिपन बि.क. र सुरज परियार पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । जन्तेढुंगा गाउँपालिकाका प्रज्ञान राईसमेत हालसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।
उनीहरूको अवस्था अज्ञात रहेपछि आफन्तजन चिन्तित बनेका छन् । आफन्तहरूले बाढी प्रभावित क्षेत्रमा रहेका उनीहरूको खोजी तथा उद्धारलाई तीव्रता दिन प्रशासन तथा सम्बन्धित सरोकारवाला निकायसँग आग्रह गरेका छन् । प्रहरीले सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे खोजी तथा समन्वय भइरहेको जनाएको छ ।











Discussion about this post