भाद्र १४, सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुले गम्भीर अवस्थाका बिरामीलाई उपचार सेवा उपलब्ध गराउने उद्देश्यले आइसियु सेवाको क्षमता विस्तार गर्ने भएको छ । अस्पताल परिसरभित्र हाल प्रयोगविहीन अवस्थामा रहेका केही वार्ड तथा कोठालाई आवश्यक व्यवस्थापन गरी आइसियु सञ्चालनका लागि तयारी अघि बढाइएको अस्पतालले जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनेशकुमार मण्डलका अनुसार अस्पताललाई थप व्यवस्थित गर्दै केही समयभित्रै पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी काम अघि बढाइएको हो । उहाँका अनुसार अस्पतालमा पाँच शय्याको एचडियुसहितको आइसियु सेवा विस्तार गर्ने तयारी भइरहेको छ । आइसियु सेवा सञ्चालनमा आएपछि जिल्लामा गम्भीर अवस्थाका बिरामीलाई प्रारम्भिक तथा सघन उपचारका लागि अन्यत्र रेफर गर्नुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।
अस्पतालले हाल १५ शय्याको स्वीकृति पाए पनि बिरामीको चाप र आवश्यकता अनुसार ५४ शय्यासम्म सञ्चालन गर्दै आएको डा. मण्डलले बताउनुभयो । स्वीकृत क्षमताभन्दा बढी शय्या सञ्चालन गर्नुपर्दा जनशक्ति, उपकरण, व्यवस्थापन र अन्य स्रोतसाधनको चुनौती अस्पतालले झेल्दै आएको उहाँको भनाइ छ । अस्पतालमा आवश्यक भौतिक संरचना तुलनात्मक रूपमा पर्याप्त भए पनि त्यसअनुसार जनशक्ति, उपकरण तथा व्यवस्थापनको व्यवस्था हुन नसक्दा सेवा सञ्चालनमा समस्या आउने गरेको उहाँले बताउनुभयो ।
अस्पतालको क्षमता विस्तारसँगै आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न प्रदेश स्वास्थ्य मन्त्रालयमा पहल भइरहेको भए पनि प्रक्रियागत कारणले केही ढिलाइ भइरहेको डा. मण्डलले बताउनुभयो । ५० शय्यामा स्तरोन्नति भएपछि जिल्लामा उपलब्ध स्वास्थ्य सेवाको दायरा थप विस्तार गर्न सहज हुने अस्पतालको अपेक्षा छ ।
पछिल्लो समय अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवा थप गर्ने तथा विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने क्रमलाई समेत बढाएको छ । यसबाट जिल्लाका नागरिकलाई स्थानीयस्तरमै विशेषज्ञसहितका स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुँदै गएको डा. मण्डलले बताउनुभयो । रेडियो एभरेस्टसँगको कुराकानीमा उहाँले अस्पतालको सेवा विस्तारसँगै उपचारका लागि बाहिरी जिल्ला जानुपर्ने स्थानीयको बाध्यता कम गर्ने गरी अस्पतालको क्षमता र सेवा क्रमशः बढाउँदै लगिएको बताउनुभयो ।











Discussion about this post