भाद्र १४, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका पालिकावासीलाई लक्षित गरी दुईदिने एकीकृत सेवा प्रवाह शिविर सुरु गरेको छ ।
काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सुरु भएको शिविरमा गाउँपालिकाबाट नियमित रूपमा उपलब्ध हुने विभिन्न प्रशासनिक तथा सामाजिक सेवाहरू एकै ठाउँबाट प्रदान भइरहेको गाउँपालिकाले जनाएको छ ।
बर्खाको समयमा गाउँ फर्किन कठिन हुने र सडक तथा यातायातको अवस्था जोखिमपूर्णसमेत रहेकाले काठमाडौँमै रहेका नागरिकलाई सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
शिविरबाट सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमिकर सङ्कलन र जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्ध विच्छेदलगायत व्यक्तिगत घटना दर्ताका सेवा उपलब्ध भइरहेका छन् । यस्तै, वि.सं. २०८० भन्दा अगाडि बनेका राष्ट्रिय परिचयपत्र वितरण, ज्येष्ठ नागरिक परिचयपत्र तथा वडा कार्यालयबाट उपलब्ध हुने विभिन्न सिफारिससम्बन्धी सेवा पनि शिविरबाट दिइएको छ ।
मिर्गौला प्रत्यारोपण गरेका, नियमित डायलासिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीका लागि सरकारले उपलब्ध गराउने मासिक पाँच हजार रुपैयाँ औषधि उपचार खर्चको नवीकरणसमेत शिविरबाट भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेले जानकारी दिनुभयो ।
शिविर उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रकाशसिंह कार्कीले गाउँपालिकाको पहल नागरिकमैत्री र सराहनीय रहेको बताउनुभयो । बर्खाका कारण सडक तथा यातायात प्रभावित भएको अवस्थामा जनप्रतिनिधि र कर्मचारीको टोली काठमाडौँमै पुगेर सेवा दिनुले नागरिकलाई गाउँसम्म पुग्नुपर्ने झन्झट र अतिरिक्त खर्चबाट राहत मिल्ने उहाँको भनाइ थियो ।
सांसद कार्कीका अनुसार गाउँपालिकाले शिविर सञ्चालनमा करिब चारदेखि पाँच लाख रुपैयाँ खर्च गरे पनि यसबाट सेवाग्राहीको यात्रा, समय र अन्य खर्च उल्लेख्य रूपमा बचत हुने देखिन्छ ।
गाउँपालिकाका अध्यक्ष धनजन राईले काठमाडौँमा व्यापार, व्यवसाय, अध्ययनलगायत कारणले बस्दै आएका पालिकावासीलाई लक्षित गरी कार्यपालिकाको निर्णयअनुसार शिविर सञ्चालन गरिएको बताउनुभयो । बर्खाको समयमा गाउँसम्म पुग्न कठिन हुने अवस्थालाई ध्यानमा राखेर विगतमा पनि यस्तै शिविर सञ्चालन गरिएको र यस वर्ष पनि निरन्तरता दिइएको उहाँले बताउनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष बिना राईका अनुसार भदौ १ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार जनप्रतिनिधि र कर्मचारी गरी करिब २५ जनाको टोली काठमाडौँमा खटिएको छ । बाढीपहिरोका कारण सडक तथा यातायात प्रभावित भइरहेका बेला नागरिकलाई प्रशासनिक सेवा लिन गाउँसम्म पुग्नुपर्ने बाध्यता कम गर्न शिविर प्रभावकारी हुने उहाँको भनाइ छ ।
दुई दिनसम्म सञ्चालन हुने शिविरमा उपलब्ध सेवाहरू लिन काठमाडौँमा रहेका सम्पूर्ण पालिकावासीलाई गाउँपालिकाले आग्रह गरेको छ ।










Discussion about this post