भाद्र १५, सोलुखुम्बु । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न स्थानमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका सोलुखुम्बुका नागरिक परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले खोजी तथा उद्धार कार्यमा समन्वय गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बिहीबार सूचना जारी गर्दै भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पुगेका र हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेका व्यक्तिका सम्बन्धमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको निःशुल्क फोन नम्बर ११३४ मा सम्पर्क गरी विवरण टिपाउन अनुरोध गरेको हो ।
प्रशासनले सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारमा समन्वयका लागि नजिकको प्रहरी चौकी तथा वडा कार्यालयमा समेत सम्पर्क गरी सूचना उपलब्ध गराउन आग्रह गरेको छ । जिल्लाका २२ जना हाल सम्म सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय अन्तर्गतको विपद आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । हाल सम्म २२ जना सम्पर्क बाहिर रहेको ववरण परिवारले टिपाएको भएपनि भेटिएको वा परिवारको सम्कर्पमा भने कोही आएको छैन ।
बाढीका कारण रसुवाको भोटेकोशी आसपासका क्षेत्रमा ठूलो क्षति भएपछि विभिन्न कामका लागि त्यस क्षेत्रमा पुगेका सोलुखुम्बुवासीको अवस्थाबारे परिवार तथा आफन्तमा चिन्ता बढेको छ । सञ्चार तथा यातायात सम्पर्क प्रभावित भएका कारण कतिपय व्यक्तिसँग तत्काल सम्पर्क हुन नसकेको हुन सक्ने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले सम्पर्कविहीन भएका व्यक्तिको यकिन विवरण संकलन गरी खोजी तथा उद्धार कार्यमा सम्बन्धित निकायसँग समन्वय गर्न सूचना जारी गरेको जनाएको छ । प्रशासनले सम्पर्कमा नआएका व्यक्तिबारे जानकारी प्राप्त भए तत्काल सम्बन्धित निकायमा उपलब्ध गराउनसमेत आग्रह गरेको छ ।
यसैबीच प्रशासनले खोजी तथा उद्धारसम्बन्धी समन्वयका लागि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सहायक प्रमुख जिल्ला अधिकारीको सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ । प्रशासनले बाढी प्रभावित क्षेत्रमा रहेका सोलुखुम्बुवासीको अवस्थाबारे जानकारी प्राप्त गर्न परिवार तथा आफन्तले उपलब्ध सबै माध्यमबाट सूचना आदानप्रदान गर्न आग्रह गरेको छ । साथै, प्रभावित क्षेत्रमा रहेका व्यक्तिलाई देख्ने वा भेट्ने जोसुकैले सम्बन्धित परिवार वा सुरक्षा निकायलाई तत्काल जानकारी गराउन अनुरोध गरिएको छ ।










Discussion about this post