भदौ १५, सोलुखुम्बु । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन जंगलबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान करिब ४ बजे शान्तिवन जंगल क्षेत्रमा खोजतलास गरेको थियो ।
सो क्रममा जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरामा प्याक गरिएको एक हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बा १६ च ५२६९ नम्बरको बोलेरो गाडीसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँका ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगर पक्राउ परेका छन् । पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










Discussion about this post