भदौ १५, सोलुखुम्बु । रसुवामा हालै आएको बाढीपछि सम्पर्कविहीन भएका खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का २३ वर्षीय रुपेश परियार परिवारको सम्पर्कमा आएका छन् । परिवारका अनुसार रुपेश हाल परिवारसँग सम्पर्कमा आएका हुन् । उनी बाढीपछि सम्पर्कविहीन भएपछि परिवारले उनको अवस्थाबारे चासो व्यक्त गर्दै आएका थिए ।
रुपेश परिवारको सम्पर्कमा आएको जानकारी जिल्ला प्रहरी कार्यालय खोटाङलाई परिवारले गराएको जनाइएको छ । यसैबीच, खोटाङका अझै नौ जना बाढीपछि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। प्रहरीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सुर्जबहादुर परियार, पवन खत्री दाहाल र कबिन राई सम्पर्कविहीन छन्।
त्यसैगरी ऐसेलुखर्क गाउँपालिकाका बालकुमार तामाङ, युवराज राई र यसबहादुर राई पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। हलेसी तुवाचुङ नगरपालिकाका विपन विक र सुरज परियार तथा जन्तेढुंगा गाउँपालिकाका प्रज्ञान राईको अवस्था पनि हालसम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने कार्य भइरहेको प्रहरीले जनाएको छ।











Discussion about this post