भदौ १५, सोलुखुम्बु । नेपाली सेनाको दुर्गाबक्स गणको पहलमा सोलुदूधकुण्ड नगरपालिका–९ स्थित दूधकुण्डमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २७५ जना लाभान्वित भएका छन् । जनै पूर्णिमाको अवसरमा दूधकुण्डमा लागेको मेलालाई लक्षित गरी सेनानी गोपाल भण्डारीको कमान्डमा भदौ १० देखि १२ गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा दूधकुण्डमा पूजाअर्चना गर्न पुगेका भक्तजनमध्ये ११५ महिला र १६० पुरुष गरी २७५ जनाको स्वास्थ्य परीक्षण गरिएको दुर्गाबक्स गणले जनाएको छ । स्वास्थ्य परीक्षणका क्रममा लेक लागेका सात जनालाई अक्सिजन थेरापीसहित आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको थियो । उच्च हिमाली क्षेत्रमा पर्ने दूधकुण्डमा मेला भर्न पुगेका भक्तजनलाई स्वास्थ्यसम्बन्धी समस्या हुन नदिन शिविर सञ्चालन गरिएको गणले जनाएको छ ।
मेलामा करिब एक हजार दुई सयदेखि एक हजार पाँच सय भक्तजनको उपस्थिति रहेको बताइएको छ । मेला तथा पूजाअर्चनाका क्रममा स्वास्थ्य समस्या देखिएका व्यक्तिलाई सेनाको स्वास्थ्य टोलीले तत्काल उपचार तथा आवश्यक परामर्श दिएको थियो । यसै क्रममा मेलाको सुरक्षा व्यवस्थापनमा खटिएका सोलुदूधकुण्ड नगरपालिकाका नगर प्रहरी कुमार रुजाललाई लेक लागेपछि स्वास्थ्यमा सुधार नभएको जनाइएको छ ।
उहाँलाई डा. लक्ष्मण मल्ल ठकुरीको कमान्डमा खटिएको स्वास्थ्य टोलीले स्ट्रेचरमा बोकेर ट्याक्सीमार्फत जिल्ला अस्पताल फाप्लु ल्याई उपचार गराएको थियो । उच्च हिमाली क्षेत्रमा आयोजना हुने धार्मिक तथा सांस्कृतिक मेलामा सहभागी हुने भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै सेनाले स्वास्थ्य शिविर तथा उद्धारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।











Discussion about this post