भाद्र १५, सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिकाले विपद् व्यवस्थापन, कर्मचारी प्रशासन तथा नागरिकको सहज सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम अघि बढाएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कोइरालाले गाउँपालिकाभित्र सम्भावित बाढी, पहिरो, आगलागीलगायत विपद्का घटनालाई ध्यानमा राख्दै विपद् व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
विपद्का समयमा तत्काल उद्धार, राहत तथा आवश्यक समन्वय गर्न सक्ने गरी स्थानीय तहको संयन्त्रलाई व्यवस्थित बनाउनेतर्फ गाउँपालिकाले काम गरिरहेको उहाँको भनाइ छ । रेडियो एभरेस्टसँगको कुराकानीमा उहाँले विपद् व्यवस्थापन स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी भएकाले विपद् आउनुअघि नै आवश्यक तयारी, स्रोतसाधनको व्यवस्थापन र सम्बन्धित निकायबीच समन्वयमा जोड दिइएको बताउनुभयो । यस्तै, गाउँपालिकाको दैनिक प्रशासनिक कामलाई प्रभावकारी बनाउन कर्मचारी व्यवस्थापन तथा जिम्मेवारी बाँडफाँटमा समेत ध्यान दिइएको उहाँले बताउनुभयो ।
उपलब्ध जनशक्तिलाई आवश्यकता र कार्यबोझका आधारमा परिचालन गर्दै कार्यालयबाट प्रवाह हुने सेवामा ढिलासुस्ती नहोस् भन्नेमा गाउँपालिका सचेत रहेको उहाँको भनाइ छ । कर्मचारीबीच समन्वय, जिम्मेवारीअनुसारको कार्यसम्पादन तथा सेवाग्राहीप्रति जवाफदेहितालाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताउनुभयो । स्थानीय तहका सेवा नागरिकले सहज रूपमा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्ने गरी प्रशासनिक कामलाई व्यवस्थित बनाइएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यान्वयनको प्रक्रियासमेत अघि बढाइसकेको छ । बजेटमा समेटिएका योजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै सेवा प्रवाह र विकास निर्माणलाई सँगसँगै अघि बढाउने गाउँपालिकाको तयारी छ । गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणसँगै नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सेवा, विपद् व्यवस्थापन र प्रशासनिक सुधारलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । आगामी दिनमा सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बनाउँदै लैजाने उहाँको भनाइ छ ।











Discussion about this post