भदौ १५, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका–५ स्थित रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा गरिएको छ । ‘पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका, २०७९’ तथा ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८०’ ले निर्धारण गरेका आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपछि रुपाटार स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
स्वास्थ्य चौकी व्यवस्थापन समिति ताप्ली–५ रुपाटारको आयोजनामा भएको कार्यक्रममा ताप्ली गाउँपालिका, वल्र्ड भिजन इन्टरनेसनल नेपाल, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुर र जल्पा एकीकृत विकास समाज उदयपुरको सहयोग रहेको थियो । कार्यक्रममा ताप्ली गाउँपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्नु स्थानीय तहका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै समुदायस्तरमा पोषणको अवस्था सुधार गर्न थप पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
ताप्ली गाउँपालिका अध्यक्ष ढुंगराज विकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, वडा कार्यालयका पदाधिकारी, स्वास्थ्य संस्था प्रमुख, टोल विकास संस्था, विद्यालयका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, बालक्लब सञ्जाल, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीको सहभागिता थियो ।
पोषणमैत्री स्वास्थ्य संस्थाले गर्भवती, सुत्केरी, बालबालिका तथा समुदायमा पोषणसम्बन्धी सेवा, परामर्श र जनचेतनामूलक गतिविधिलाई प्राथमिकताका साथ सञ्चालन गर्ने जनाइएको छ । साथै स्वास्थ्य तथा पोषणका क्षेत्रमा स्थानीय समुदाय, विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।










Discussion about this post