भदौ १६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले काठमाडौँमा सञ्चालन गरेको एकीकृत सेवा प्रवाह शिविरबाट दुई दिनमा ५१० जना नागरिक लाभान्वित भएका छन् । गाउँपालिकाले काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा भदौ १४ र १५ गते वडा नम्बर १ देखि ५ सम्मका नागरिकलाई लक्षित गरी उक्त शिविर सञ्चालन गरेको हो ।
गाउँपालिकाबाट टाढा रहेका तथा काठमाडौँ लगायत जिल्लाबाहिर बसोबास गर्दै आएका नागरिकलाई स्थानीय तहबाटै उपलब्ध हुने सेवा सहज रूपमा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा विभिन्न सिफारिस, नागरिकता सिफारिस, सामाजिक सुरक्षा नवीकरण, मालपोत दस्तुर, व्यक्तिगत घटना दर्ता तथा प्रतिलिपि, ज्येष्ठ नागरिक परिचयपत्र र राष्ट्रिय परिचयपत्र कार्ड वितरणलगायतका सेवा उपलब्ध गराइएको थियो ।
गाउँपालिकाको तथ्याङ्कअनुसार सामाजिक सुरक्षा नवीकरणतर्फ सबैभन्दा बढी १७६ जनाले सेवा लिएका छन् । यस्तै, मालपोत दस्तुरतर्फ १६०, अन्य सिफारिसतर्फ ५०, राष्ट्रिय परिचयपत्र कार्ड वितरणतर्फ ३७, जन्मदर्तातर्फ २५ र व्यक्तिगत घटना दर्ताको प्रतिलिपितर्फ १३ जनाले सेवा लिएका छन् ।
त्यसैगरी विवाहदर्तातर्फ १२, ज्येष्ठ नागरिक परिचयपत्रतर्फ ११, नागरिकता सिफारिसतर्फ नौ, बसाइँसराइसम्बन्धी सात, नाता प्रमाणिततर्फ छ, मृत्युदर्तातर्फ तीन र सम्बन्धविच्छेदसम्बन्धी एक जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ । दुई दिनसम्म सञ्चालन भएको शिविरबाट गाउँपालिकाले ६७ हजार २० रुपियाँ राजस्वसमेत सङ्कलन गरेको छ। स्थानीय तहबाट प्रवाह हुने सेवा लिन गाउँपालिकाको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता कम गर्दै सेवाग्राहीलाई आफू बसेकै स्थानबाट सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।










Discussion about this post