भदौ १७, सोलुखुम्बु । भोटेकोशी बाढीपछि सोलुखुम्बु जिल्लाका ४६ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीमा बेपत्ता भएको प्रारम्भिक विवरणअनुसार ४८ जनाको सूची तयार गरिएकोमा दुई जना परिवारको सम्पर्कमा आएको पुष्टि भएको हो ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगर अनुसार बेपत्ता व्यक्तिको विवरण औपचारिक रूपमा कुनै सरकारी निकायबाट प्रमाणित भएको सूची भने होइन । स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीय प्रहरी, सर्वसाधारण, बेपत्ता व्यक्तिका परिवार तथा विभिन्न राजनीतिक दलबाट प्राप्त सूचनाका आधारमा फोटोसहितको विवरण सङ्कलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय रसुवा र गृह मन्त्रालयलगायत सम्बन्धित निकायमा पठाइएको छ ।
प्रमुख जिल्ला अधिकारीले प्रारम्भमा चार जना सम्पर्कमा आएको समाचार बाहिर आए पनि दुई जनाको मात्र सम्पर्कमा आएको पुष्टि भएको जानकारी दिनुभयो। एक जनाको विवरण अझै प्रमाणीकरण हुन बाँकी रहेको र अर्का एक व्यक्ति परिवारको सम्पर्कमा आएको भनिए पनि पुनः पुष्टि हुन नसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल सरकारले उपलब्ध सबै संयन्त्र परिचालन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले भने आफ्नो तहबाट मुख्य रूपमा सूचना सङ्कलन, सञ्चार र समन्वयको काम गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले बेपत्ता व्यक्तिको विवरण सम्बन्धित निकायमा पठाउनुका साथै नेपाल प्रहरीबाट प्राप्त उद्धारसम्बन्धी दैनिक विवरणसँग तुलना गरी सोलुखुम्बुका नागरिक उद्धार भए–नभएको यकिन गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । उद्धार भएको पुष्टि भएपछि सम्बन्धित परिवारलाई जानकारी गराउने गरिएको छ ।
तर, जिल्लामा रहेका सम्पूर्ण बेपत्ता व्यक्तिको खोजी आफैँले गरी तत्काल उनीहरूको अवस्थाबारे जानकारी दिन सक्ने क्षमता जिल्ला प्रशासन कार्यालयसँग नरहेको उहाँको भनाइ छ । उहाँले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र मार्फत पनि सूचना आदानप्रदानको काम भइरहेको जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रसँग सम्बन्धित सूचना तथा विवरण टिपाउन निःशुल्क टेलिफोन नम्बर ११४१ मा सम्पर्क गर्न सार्वजनिक रूपमा अनुरोध गरिएको छ ।
सीडिओले मुख्य रूपमा रसुवा बाढीसँग सम्बन्धित सूचना सङ्कलन तथा नागरिकसँग सूचना आदानप्रदान गरिरहेको छ भने जिल्लाका अन्य विपद्का सूचना सङ्कलन, सम्बन्धित निकायमा पठाउने र सम्भावित जोखिमबारे पूर्वतयारीका लागि सचेत गराउने कामसमेत गर्दै आएको उहाँले बताउनुभयो ।










Discussion about this post