सबिना राई, भदौ १९, सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा आधार शिविरदेखि माथिल्ला क्याम्पसम्म थुप्रिएको फोहोर व्यवस्थापनका क्रममा करिब ९० हजार किलोग्राम फोहोर संकलन गरिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार आर्थिक बर्ष २०८२÷०८३ मा आरोहणका क्रममा क्याम्प वान, क्याम्प टु लगायतका क्षेत्रमा आरोही तथा सहयोगीले छाडेका मानव मलमूत्र, प्लास्टिकजन्य सामग्री र भान्साबाट निस्कने फोहोर संकलन गरिएको हो ।
उहाँका अनुसार सगरमाथा क्षेत्रमा फोहोर संकलनको काम निरन्तर भइरहे पनि आरोहणको समयमा ठूलो सङ्ख्यामा मानिस पुग्ने भएकाले पूर्ण रूपमा फोहोरमुक्त बनाउन चुनौती रहेको छ । संकलित फोहोरमध्ये मानव मलमूत्रलाई सम्बन्धित स्थानमा व्यवस्थित रूपमा व्यवस्थापन गर्ने गरिएको छ । नजल्ने फोहोर नाम्चे बजारमा रहेको इन्सिनरेटरमा व्यवस्थापन गरिने तथा अन्य फोहोर काठमाडौँ पठाउने गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो । सरकारले आरोहीले कम्तीमा आठ किलोग्राम फोहोर फिर्ता ल्याउनुपर्ने व्यवस्था गरे पनि उच्च हिमाली क्षेत्रमा यसको कार्यान्वयन र अनुगमन अझै चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।
विशेषगरी सातदेखि आठ हजार मिटर उचाइबाट फोहोर फिर्ता ल्याउने व्यवस्था कार्यान्वयन गर्न कठिन रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आधार शिविरदेखि नाम्चेसम्म फोहोर ओसार्ने कामदार तथा शेर्पालाई दैनिक ज्याला तथा बोकाइअनुसारको क्यारिङ चार्ज उपलब्ध गराउने गरिएको छ । छुट्टै जोखिम भत्ताको व्यवस्था नभए पनि फोहोर तथा सामग्री बोकाइका आधारमा पारिश्रमिक दिने गरिएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष शेर्पाले सगरमाथाबाट संकलित फोहोरका कारण खुम्बु क्षेत्रका पानीका मुहानमा ठूलो समस्या नदेखिएको दाबी गर्नुभयो । उहाँका अनुसार पासाङल्हामु गाउँपालिका–४ र ५ क्षेत्रमा हिमालबाट ल्याइएको फोहोरका कारण उल्लेख्य असर देखिएको छैन ।
तर, आरोहणको मुख्य सिजनमा आधार शिविरमा चारदेखि पाँच हजार मानिसको चाप हुने भएकाले मानव मलमूत्र र पिसाब व्यवस्थापन मुख्य चुनौती बन्ने गरेको उहाँले बताउनुभयो । त्यसका लागि ड्रममा संकलन गरी तोकिएको स्थानमा व्यवस्थापन गर्ने गरिएको छ । एसपिसिसी पासाङल्हामु गाउँपालिकासँग समन्वयमा काम गर्ने संस्था भए पनि सगरमाथाको उच्च क्षेत्रमा पर्ने क्याम्प टु माथिको क्षेत्र समितिको प्रत्यक्ष कार्यक्षेत्रमा नपर्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेर फोहोर व्यवस्थापनको काम गर्दै आएको छ । सगरमाथालाई विश्वभर ‘विश्वकै अग्लो डम्पिङ साइट’का रूपमा प्रचार गरिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष शेर्पाले एक सिजन आरोहण रोकाएर पूर्ण रूपमा सफाइ अभियान सञ्चालन गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । उहाँका अनुसार क्याम्प टु र क्याम्प थ्रीबाट फोहोर तल ल्याउनसमेत ठूलो खर्च लाग्ने गरेको छ ।
सगरमाथाको फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न कम्तीमा निश्चित अवधिमा एक सिजन आरोहण रोकेर व्यापक सफाइ अभियान सञ्चालन गर्नुपर्ने उहाँको सुझाव छ । यस्तो अभियानलाई निरन्तरता दिन सके सगरमाथालाई ‘डम्पिङ साइट’का रूपमा प्रचार गरिने गलत छवि हटाउन सकिने उहाँको विश्वास छ ।










Discussion about this post