भदौ १९, सोलुखुम्बु । फाप्लु विमानस्थलबाट एक वर्षको अवधिमा ६ लाख १४ हजार किलोभन्दा बढी सामग्री हवाई कार्गोमार्फत ढुवानी गरिएको छ। नागरिक उड्डयन कार्यालय फाप्लुका अनुसार आर्थिक वर्ष २०८२/८३ मा तारा एयर र समिट एयरका जहाजमार्फत कुल ६ लाख १४ हजार ६६५ किलो सामग्री लुक्लातर्फ ढुवानी गरिएको हो।
ढुवानी गरिएका सामग्रीहरूमा अधिकांश काठ रहेको तथा त्यसबाहेक निर्माण सामग्री र खाद्यान्नसमेत रहेको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी आयुष थापाका अनुसार सडक सञ्जाल नजोडिएका कारण लुक्ला तथा आसपासका उच्च हिमाली क्षेत्रमा विकास निर्माणका पूर्वाधार र दैनिक उपभोग्य वस्तु पु¥याउन हवाई ढुवानी नै प्रमुख र भरपर्दो माध्यमका रूपमा रहेको छ।
कार्यालयको मासिक तथ्याङ्क अनुसार वर्षभरिमा सबैभन्दा धेरै वैशाख महिनामा ९५ हजार ७०० किलो सामग्री ढुवानी भएको छ भने सबैभन्दा कम जेठ महिनामा ७३० किलो मात्र ओसारपसार भएको छ। यस्तै साउनमा ६१ हजार २०० किलो, भदौमा २० हजार ४०० किलो, असोजमा ७८ हजार किलो, कात्तिकमा ५८ हजार ६९० किलो र मङ्सिरमा ८८ हजार ८९५ किलो कार्गो ढुवानी भएको छ।
यसैगरी पुसमा ४० हजार ८०० किलो, फागुनमा ६४ हजार ६०० किलो तथा चैतमा ३७ हजार ६५० किलो सामग्री पठाइएको छ। मौसम प्रतिकूलता तथा अन्य प्राविधिक कारणले माघ र असार महिनामा भने कार्गो ढुवानी पूर्ण रूपमा ठप्प रहेको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ।










Discussion about this post