भदौ २२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का किसान दोर्मी शेर्पाले २०७० सालदेखि व्यावसायिक रूपमा सुरु गरेको किवी खेती अहिले उत्पादन दिने अवस्थामा पुगेको छ । लामजुङबाट बिरुवा ल्याएर सुरु गरिएको किवी खेतीबाट शेर्पाले कृषि क्षेत्रमा नयाँ सम्भावना देख्नुभएको छ । करिब १०–११ वर्ष पुरानो किवी बगैँचा अहिले पूर्ण उत्पादन दिने अवस्थामा पुगेको शेर्पाले बताउनुभयो । उहाँका अनुसार किवीले सामान्यतया रोपेको तीन वर्षपछि फल दिन सुरु गर्छ । हाल उहाँको बगैँचामा करिब ३५० वटा किवीका बिरुवा छन् । किवी खेतीमा बजार, रोग–कीरा, प्राविधिक ज्ञान तथा दक्ष जनशक्तिको अभाव मुख्य चुनौतीका रूपमा रहेको उहाँको भनाइ छ ।
कृषि प्रधान देश भनिए पनि व्यावसायिक खेती गर्ने किसानले मलखाद व्यवस्थापनदेखि श्रमिकको अभावसम्म विभिन्न समस्या झेल्नुपरेको उहाँले बताउनुभयो । किवी खेतीमा बोटको हाँगा व्यवस्थापन, फूल तथा फलको छनोट, सिँचाइ र गोडमेलमा विशेष ध्यान दिनुपर्ने शेर्पाले बताउनुभयो । साना फल हटाएर ठूला फललाई हुर्काउनुपर्ने तथा फूल व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । सुक्खा समयमा पर्याप्त सिँचाइ र बोट वरिपरिका झारपात हटाउने काम पनि नियमित गर्नुपर्छ ।
शेर्पाका अनुसार किवीमा जेठ महिनादेखि फूल फुल्ने र फल लाग्न सुरु हुन्छ । कात्तिक महिनामा फल टिप्ने उपयुक्त समय हुने उहाँले बताउनुभयो । किवीको हेवर्ड जात विश्व बजारमा लोकप्रिय रहेको शेर्पाले बताउनुभयो । उक्त जातमा एक वर्ष बढी र अर्को वर्ष तुलनात्मक रूपमा कम उत्पादन हुने गरेको उहाँको अनुभव छ । फललाई ठूलो बनाउन बोटको शक्ति खर्च हुने भएकाले त्यसपछिको वर्षमा नयाँ हाँगा कम बन्ने र उत्पादनमा समेत कमी आउने उहाँले बताउनुभयो ।
बजारको सम्भावना भए पनि पहिचान चुनौती
किवीको बजार नेपालमा पर्याप्त भए पनि किसानका लागि बजार पहिचान मुख्य चुनौती रहेको शेर्पाको भनाइ छ । उत्पादन बढेमा बिक्रीका लागि बजारको अभाव नहुने उहाँको अनुभव छ । नेपालका ठूला बजारमा विदेशी किवीसमेत आयात भएर बिक्री भइरहेको उहाँले बताउनुभयो । काठमाडौँ, पोखरा र विराटनगरलगायतका बजारमा थाइल्यान्ड र इरानबाट किवी आयात हुने गरेको उहाँको भनाइ छ । किवीको मूल्य मौसमअनुसार फरक हुने गरेको छ । शेर्पाका अनुसार सिजनमा होलसेल मूल्य प्रतिकिलो ९० देखि १०० रुपियाँसम्म हुने गरेको छ भने अफसिजनमा मूल्य बढ्दै ४०० देखि ४५० रुपियाँ प्रतिकिलोसम्म पुग्ने गरेको छ ।
पानी व्यवस्थापनमा विशेष ध्यान
किवी खेतीमा पानीको व्यवस्थापन महत्वपूर्ण हुने शेर्पाले बताउनुभयो । उहाँका अनुसार धेरै पानी वा अत्यधिक कम पानी दुवैले किवीका बोटमा असर गर्छ । हाल उहाँको बगैँचामा दुई–दुई हजार लिटर क्षमताका पाँच वटा पानी ट्याङ्की रहेका छन् । बगैँचामा रहेका करिब ३५० बिरुवामध्ये वर्षमा एक–दुई वटा बिरुवा मर्ने गरेको र त्यस्ता स्थानमा नयाँ बिरुवा लगाउने गरिएको उहाँले बताउनुभयो । केही बिरुवा भाले–भाले परेका कारण पनि पुनः बिरुवा परिवर्तन गर्नुपरेको उहाँको अनुभव छ । किवीमा परागसेचनका लागि भाले बिरुवाको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । नेपालमा प्राकृतिक रूपमा हावा तथा मौरीबाट परागसेचन हुने गरेको र आवश्यक परे किसानले समेत भाले फूलको पराग प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।
किवीमा पोषणयुक्त गुण
किवीमा फाइबर तथा भिटामिन ‘सी’ लगायतका पोषक तत्त्व पाइने भएकाले स्वास्थ्यका लागि उपयोगी फल भएको शेर्पाले बताउनुभयो । चिल्लो पदार्थ कम हुने र रोगसँग लड्ने क्षमता बढाउन सहयोग गर्ने भएकाले किवीको माग बढ्दै गएको उहाँको भनाइ छ । किवी खेती विस्तारका लागि स्थानीय तह तथा किवी जोनबाट सहयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो । सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका तथा खुम्बु पासाङल्हामु क्षेत्रका किसानलाई किवी जोनमार्फत सहयोग भइरहेको उहाँको भनाइ छ । शेर्पाका अनुसार किवी खेतीका लागि ५० प्रतिशतसम्म अनुदान प्राप्त हुने गरेको छ । तर आफूले २०७०–७१ सालमै खेती सुरु गरेकाले त्यस समयमा स्थानीय तहको संरचना र कार्यक्रम सञ्चालनमा नआएका कारण सरकारी अनुदानको सुविधा लिन नसकेको उहाँले बताउनुभयो ।
जनशक्ति र आधुनिक उपकरणको अभाव
किवी खेती विस्तार गर्न चाहने किसानका लागि दक्ष जनशक्ति र आधुनिक कृषि उपकरणको अभाव अर्को समस्या रहेको शेर्पाको भनाइ छ । मलखाद राख्नेदेखि फल टिप्ने र बगैँचाबाट बजारसम्म पु¥याउने काममा पर्याप्त श्रमिक नहुँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । किवीबाहेक शेर्पाले मकै, आलु, गहुँ र उवा लगायतका परम्परागत बालीसमेत लगाउँदै आउनुभएको छ । यस वर्ष मौसम प्रतिकूल हुँदा आलु उत्पादन भने बिक्री गर्न पुग्ने गरी हुन नसकेको उहाँले बताउनुभयो ।
विदेशको सीप स्वदेशमै प्रयोग गर्न आग्रह
युवाको विदेश पलायनलाई पूर्ण रूपमा रोक्न नसकिने भए पनि विदेशमा सिकेको सीप र कमाएको रकम स्वदेशमै लगानी गर्नुपर्ने शेर्पाको सुझाव छ । उहाँका अनुसार पछिल्लो समय विदेश गएर फर्किएका कतिपय व्यक्तिले त्यहाँ सिकेको प्रविधि र अनुभवका आधारमा नेपालमा एभोकाडो, ड्रागन फ्रुट तथा किवीजस्ता नयाँ कृषि व्यवसाय सुरु गरेका छन् । कृषिमा युवा आकर्षित हुन नसक्नुमा झन्झटिलो कागजी प्रक्रिया र अनुदान वितरण प्रणाली पनि कारण रहेको उहाँले बताउनुभयो । वास्तविक किसानसम्म अनुदानको पहुँच पु¥याउन प्रक्रिया सरल बनाउनुपर्ने उहाँको भनाइ छ । कृषिलाई व्यावसायिक बनाउँदै बाँझो जमिनको उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उत्पादन भएका कृषि उपजको बजार सुनिश्चित गर्दै सरकारले निर्यातका लागि सहज वातावरण निर्माण गर्न सके नेपाललाई कृषिबाटै आर्थिक रूपमा अघि बढाउन सकिने उहाँको विश्वास छ ।











Discussion about this post