भदौ २२, सोलुखुम्बु । रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सोलुखुम्बु उद्योग वाणिज्य संघले तीन लाख १७ हजार रुपियाँ सहयोग गरेको छ । संघले विभिन्न व्यापार तथा व्यवसायीबाट संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमार्फत प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरलाई हस्तान्तरण गरेको हो ।
सोलुखुम्बु उद्योग वाणिज्य संघका अध्यक्ष रामलाल श्रेष्ठका अनुसार बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले जिल्लाका विभिन्न व्यापार तथा व्यवसायमा संलग्न व्यक्तिबाट रकम संकलन गरिएको हो । उहाँले विपद्का समयमा मानवीय सहयोग गर्नु सबैको साझा दायित्व भएकाले उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई समेत प्रभावित परिवारको सहयोगमा जुट्न आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी थापा मगरले विपद्का समयमा सोलुखुम्बु उद्योग वाणिज्य संघले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै संकलित रकम सम्बन्धित राहत कोषमा जम्मा गरिने बताउनुभयो । उहाँले विपद्पीडितको राहत तथा पुनःस्थापनामा प्राप्त सहयोग महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।











Discussion about this post