भदौ २५, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले हरितालिका तीजका लागि छुट्याइएको रकम बाढीपीडितको सहयोगमा प्रयोग गर्ने भएको छ । गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले पाँचवटै वडामा तीज कार्यक्रम सञ्चालनका लागि छुट्याइएको रकम बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिकाले यसअघि पाँचवटै वडामा करिब ५० हजार रुपियाँका दरले तीज कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो ।
तर, रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण लिखुपिकेका नागरिकसमेत प्रभावित भएपछि तीजका लागि छुट्याइएको रकम पीडितको सहयोगमा खर्च गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता मनिराज बस्नेतले जानकारी दिनुभयो । बाढीपछि लिखुपिके गाउँपालिकाका छ जना नागरिक सम्पर्कविहीन भएकामा एक जना परिवारको सम्पर्कमा आएका छन् । पाँच जना अझै सम्पर्कविहीन रहेको प्रवक्ता बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार बाढीबाट प्रभावित नागरिकको अवस्था र खोजीलाई प्राथमिकतामा राख्दै तीज कार्यक्रमका लागि विनियोजित रकम सहयोगमा प्रयोग गर्ने निर्णय गरिएको हो । यससँगै गाउँपालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट समेत बाढीपीडितका लागि सहयोग रकम जुटाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ ।










Discussion about this post