भाद्र ३१, सोलुखुम्बु । बिहानै सल्लेरी बजारमा तरकारीको पसल खोल्नुहुन्छ रिता कार्की। दिनभर ग्राहकको पर्खाइ, तरकारी बेचबिखन र हिसाबकिताबमै बित्छ। साँझ पसल बन्द गर्दा हातमा केही पैसा त हुन्छ, तर त्यो पैसाले घरको आवश्यकतासँगै भान्साको खर्च धान्न समेत हम्मेहम्मे पर्छ। थुलुङ दूधकोशी गाउँपालिकाबाट सल्लेरी आएर सानो तरकारी पसल सञ्चालन गर्दै आउनुभएकी कार्कीका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती आम्दानी बढाउनु भन्दा बढेको खर्च व्यवस्थापन गर्नु हो।
“दिनभर कमाएको पैसाले साँझको छाक टार्नै समस्या हुन्छ,” उहाँ भन्नुहुन्छ, “पहिले जसरी सामान किन्न र घर चलाउन अहिलेको कमाइले पुग्दैन।” रिताको समस्या सोलुखुम्बुका धेरै सामान्य परिवारको साझा कथा हो । आम्दानीको स्रोत सीमित छ, तर दैनिक आवश्यकताका वस्तुको मूल्य भने निरन्तर बढिरहेको अनुभव उनीहरूको छ।
नुनदेखि तेल, तरकारीदेखि चामलसम्मको मूल्य बढेपछि यसको प्रत्यक्ष असर घरको भान्सामा परेको छ। पहिले सामान्य लाग्ने खर्चसमेत अहिले सोचेर गर्नुपर्ने अवस्था आएको स्थानीयहरूको भनाइ छ। देउसाका बुद्धिराम नेपालीको चिन्ता भने घरको भान्सासँगै आफ्ना सन्ततीको भविष्यलाई लिएर छ। उहाँ आफ्ना छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन चाहनुहुन्छ। तर शिक्षामा लाग्ने खर्च बढ्दै जाँदा त्यो चाहना पूरा गर्न कठिन भइरहेको उहाँ बताउनुहुन्छ। “छोराछोरीलाई राम्रो पढाउन मन लाग्छ,” नेपाली भन्नुहुन्छ, “तर पढाइको खर्च बढ्दै गएपछि चाहेर मात्र हुँदैन रहेछ।”
महँगीको असर मानिसले किन्ने सामानको मात्र होइन, उसले रोज्नुपर्ने विकल्पमा पनि देखिन थालेको छ। आम्दानी सीमित भएपछि परिवारले आवश्यकता र चाहनाबीच सम्झौता गर्नुपर्ने अवस्था आउँछ। भान्सामा पहिले पाक्ने परिकार घट्छन्, कपडा तथा अन्य गैरआवश्यक खर्च पछि सारिन्छन् र शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा समेत खर्च व्यवस्थापनको दबाब पर्छ। गोलीका एक वृद्धलाई भने आजको महँगीसँग तुलना गर्दा पुराना दिन सम्झना आउँछ। उहाँलाई वर्षौँअघि एक रुपैयाँ मानामा चामल किनेको समय अझै सम्झना छ। आज २५ किलो चामलको बोरालाई नै ३५ सय रुपैयाँसम्म तिर्नुपर्ने अवस्था सामान्य मूल्यवृद्धि मात्रै भनेर बुझ्न नसकिने उहाँको अनुभव छ।
उमेरसँगै मूल्यको अन्तर पनि उहाँले आफ्नै जीवनमा देख्नुभएको छ। त्यसैले अहिलेको बजारभाउ उहाँका लागि केवल अंकमा बढेको मूल्य होइन, विगत र वर्तमानबीचको ठूलो परिवर्तन हो। सोलुखुम्बुजस्तो हिमाली तथा दुर्गम जिल्लामा महँगीको प्रभाव अझ फरक ढंगले देखिन्छ। जिल्लामा उत्पादन हुने वस्तु सीमित छन्। बाहिरी जिल्लाबाट खाद्यान्न, तरकारी, निर्माण सामग्रीदेखि दैनिक उपभोग्य वस्तुसम्म ढुवानी गरेर ल्याउनुपर्ने भएकाले यातायात र ढुवानी खर्चले बजार मूल्यमा असर पार्छ। त्यसमाथि स्थानीय उत्पादन र रोजगारीका अवसर पर्याप्त नहुँदा आम नागरिकको आय र खर्चबीचको दूरी झनै बढ्ने गरेको देखिन्छ।
देशमा रोजगारीको कमी, श्रमशक्ति बाहिरिनु र उत्पादन प्रणाली कमजोर हुनु पनि महँगीसँग जोडिएका महत्वपूर्ण पक्ष हुन्। उत्पादन कम हुँदा बजारको माग धान्न बाह्य आपूर्तिमा निर्भरता बढ्छ। त्यसको असर अन्ततः उपभोक्ताले तिर्ने मूल्यमा पर्न सक्छ। सोलुखुम्बुमा यसको प्रभाव बजारमा मात्र होइन, गाउँका घरघरमा पुग्छ। किसानले उत्पादन गरेको वस्तुको मूल्य, व्यापारीले तिर्नुपर्ने ढुवानी खर्च र उपभोक्ताले खरिद गर्दा तिर्नुपर्ने अन्तिम मूल्यबीच ठूलो अन्तर देखिन सक्छ। महँगी बढ्दै जाँदा प्रश्न सबैकाे साझा प्रश्न छ – आम नागरिकको आम्दानी कहिले बढ्छ?
दिनभर पसलमा बसेर कमाउने रिता हुन् वा छोराछोरीको भविष्यका लागि संघर्ष गरिरहेका बुद्धिराम, अथवा दशकौँको मूल्य परिवर्तन आफ्नै आँखाले देखेका गोलीका वृद्ध — सबैको अनुभवले एउटै कुरा देखाउँछ। बजारमा मूल्य बढेको छ, तर आम नागरिकको कमाइ त्यही अनुपातमा बढ्न सकेको छैन।
त्यसैले सोलुखुम्बुमा महँगीको कथा केवल चामल, तेल र तरकारीको मूल्यको कथा होइन। यो आम नागरिकको घट्दो क्रयशक्ति, परिवारको बदलिँदो बजेट, छोराछोरीको शिक्षामाथिको दबाब र दिनभरको श्रमपछि पनि साँझको छाक कसरी टार्ने भन्ने चिन्ताको कथा हो। महँगीको यो दबाब कम गर्न स्थानीय उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, बजार अनुगमन प्रभावकारी बनाउने र दुर्गम जिल्लामा वस्तुको आपूर्ति तथा ढुवानी प्रणालीलाई सहज बनाउने विषय पनि उत्तिकै महत्वपूर्ण देखिन्छ। किनकि नागरिकको भान्सामा चुलो बलिरहनु मात्रै पर्याप्त छैन, त्यो चुलोमा परिवारले चाहेको खाना पाक्न सक्ने अवस्था पनि हुनुपर्छ।










Discussion about this post