भदौ ३१, सोलुखुम्बु । सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले ढाका बुनाइ तालिम सञ्चालनका क्रममा तालिम प्रशिक्षकसँग ४५ हजार रुपैयाँ घुस मागेको आरोपमा उपाध्यक्ष राईविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा सोताङ गाउँपालिकामा सञ्चालित १० कार्यदिनको ढाका सिलाइ बुनाइ तालिम सम्पन्न भएपछि प्रशिक्षकका रूपमा काम गरेबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ माग गरेको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ । आयोगका अनुसार उपाध्यक्ष राईले आफूलाई शङ्का नहुने गरी रकम लिन सोताङ गाउँपालिकाकै कर्मचारी सुनिल नाछिरिङ राईको बैंक खातामा रहेको क्यूआर कोडमा रकम हाल्न लगाएको पाइएको छ। घटनाबारे अनुसन्धान गर्दा उपाध्यक्ष राईले आफ्नो ओहदा एवं जिम्मेवारीको दुरुपयोग गरी तालिमका प्रशिक्षकबाट घुस माग गरेको देखिएको आयोगको आरोपपत्रमा उल्लेख छ ।
आयोगले उपाध्यक्ष राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुर गरेको ठहर गर्दै बिगो ४५ हजार रुपैयाँ कायम गरी सोहीबमोजिम सजायको मागदाबी गरेको छ । यस्तै, कर्मचारी सुनिल नाछिरिङ राईले उपाध्यक्ष अञ्जु नाछिरिङ राईसँगको मिलेमतोमा ढाका बुनाइ तालिमको प्रशिक्षकको रूपमा काम दिएबापत तथा तालिममा सहजीकरण गरेबापत सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस वा रिसवतको रकम लिएको र उपाध्यक्षका निमित्त घुस उपलब्ध गराउने गरी प्रयोग तथा प्रयोजनमा समेत ल्याएको आयोगको आरोप छ ।
कर्मचारी सुनिलविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा २ बमोजिमको कसुर गरेको भन्दै ४५ हजार रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवाना सजायको मागदाबी गरिएको छ । अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार सजायको माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।










Discussion about this post