कार्तिक १६, उदयपुर । नेपाली कांग्रेसको संस्थापन पक्षले जिल्ला अधिवेशन अघि बढाएसँगै उदयपुरमा देउवा पक्षीय कांग्रेसले पनि जिल्ला अधिवेशनको तयारी तीव्र बनाएको छ । पार्टीभित्रको आधिकारिकता विवादबीच संस्थापन इतर पक्षले आगामी कार्तिक १९ गते निर्धारित मितिमै जिल्ला अधिवेशन गर्ने भएको हो । त्रियुगा नगरपालिकाका मेयरसमेत रहनुभएका कांग्रेस नेता बसन्त बस्नेतलाई जिल्ला संयोजक बनाएर अधिवेशनको तयारी अघि बढाइएको छ । जिल्ला सदरमुकामको पुरानो गाईघाटमा अधिवेशन गर्ने तयारी गरिएको छ भने उद्घाटन नेपाली कांग्रेसका नेता तथा बीपी पुत्र शशांक कोइरालाले गर्ने तय भएको छ ।
पार्टीको आधिकारिकता विवादपछि विशेष महाधिवेशन पक्षधर कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन बाँकी राख्दै केन्द्रीय महाधिवेशन सम्पन्न गरिसकेको छ । तर संस्थापन पक्षले भने वडा, पालिका र क्षेत्रीय अधिवेशनलाई निरन्तरता दिँदै जिल्ला अधिवेशनको तयारी अघि बढाएको हो । संयोजक बस्नेतका अनुसार उदयपुरका दुई निर्वाचन क्षेत्रसहित सात पालिका र ७५ वटै वडामा अधिवेशन सम्पन्न भइसकेको छ । रौतामाई गाउँपालिकाको अधिवेशन सोमबार सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।
पालिका र वडा तहका अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशनको तयारीलाई थप भव्य बनाइने बस्नेतको भनाइ छ । आठ स्थानीय तह रहेको उदयपुरमा संस्थापन पक्षले सबै पालिका र वडामा अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ । पार्टीभित्रको विवादकै बीच जिल्ला अधिवेशन अघि बढाउन लागिएको घटनालाई कांग्रेसको संगठनात्मक गतिविधि र आन्तरिक शक्ति सन्तुलनका दृष्टिले समेत अर्थपूर्ण रूपमा हेरिएको छ ।











Discussion about this post