कार्तिक १६, सोलुखुम्बु । नेपाली काङ्ग्रेस भोजपुरले जिल्ला अधिवेशन स्थानीय तहको श्रोतबाट गरिएको भनी प्रकाशित समाचारमा सत्यता नभएको जनाएको छ । जिल्ला सभापति माननीय विनोद बान्तवाले जारी गरेको एक विज्ञप्तिमा विभिन्न सञ्चार माध्यममा जिल्ला अधिवेशन महाधिवेशन प्रतिनिधिको निर्वाचन ) गर्दा भोजपुर नगरपालिकाको श्रोतबाट गरिएको भनि समाचार बाहिरिएपछि त्यसमा कुनै सत्यता नभएको दावी गरिएको हो । विज्ञप्तिमा विभिन्न अनलाइन पत्रिकाहरूमा प्रकाशित समाचारले काङ्ग्रेसको जिल्ला नेतृत्वलाई विवादमा तान्ने प्रयास गरेको भन्दै जिल्ला कार्यसमितिले आपत्ति जनाएको हो ।
विज्ञप्तिमा पार्टीको अधिवेशन पार्टीको निर्णयबाट कोषमा रहेको लेबीको रकम मार्फत गरिएको दावी गर्दै भोजपुर नगरपालिकासँग एक रुपैयाँ पनि नलिइएको दावी गरिएको छ । अधिवेशन गर्दा विधान र निर्वाचन निर्देशिकाले व्यवस्था गरेका प्रावधान तथा जिल्ला कार्यसमितिको बैठकको निर्णयअनुसार विधि र शृङ्खलाबद्ध रूपमा अधिवेशन सम्पन्न भएको स्पष्ट पारेको छ ।
यो विषयको जड जिल्ला कार्यसमितिले पहिल्याउँदा भोजपुर नगरपालिकाका प्रमुख कैलास आले र प्रमुख प्रशासकीय अधिकृतबीचको भएको भनिएको विवाद रहेको बुझिएको भएपनि उक्त विवादसँग पार्टी आधिकारिक रुपमा अनविज्ञ रहेको समेत भनिएको छ । नगरप्रमुख आले पनि काङ्ग्रेस नेता भएकोले उनसँग बुझ्दा सेवा प्रवाहको प्रक्रियामा प्रमुख प्रशासकीयसँग केही मतान्तर भएको भए पनि समाचारमा उल्लेख गरिएका विषय अलिकति पनि सत्यता नभएको जानकारी प्राप्त भएको काङ्ग्रेसले जनाएको छ । जिल्ला कार्यसमितिले सामाजिक सञ्जालमा आएका समाचार वा व्यक्तिगत विचारका आधारमा टिप्पणी गर्नुअघि सत्यतथ्य र प्रमाणको परीक्षण गर्न सरोकारवालालाई आग्रह गरेको छ । साथै, सम्बन्धित पक्षसँग जानकारी लिएर मात्रै समाचार सम्प्रेषण गर्न आमनागरिक र पार्टी आवद्ध सबैमा अनुरोध गरेको छ ।
राजनीतिक रूपमा काङ्ग्रेस भोजपुरको विज्ञप्तिले जिल्ला अधिवेशनको वैधता र आर्थिक पारदर्शितामाथि उठेका प्रश्नलाई अस्वीकार गर्दै पार्टीको संस्थागत निर्णयको बलमा अधिवेशन सम्पन्न भएको जिकिर पार्टीका विभिन्न नेताहरूले गरेका छन्










Discussion about this post