भदौै ३१, सोलुखुम्बु । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मानेभञ्ज्याङ गाउँपालिका–८ राघवपुरमा बुधबार बिहान करिब १० बजे भएको दुर्घटनामा स्थानीय ६५ वर्षीय छविलाल तिमल्सिना र २० वर्षीय रविन मगरको मृत्यु भएको हो ।
राघवपुरस्थित शिवदुती आधारभूत विद्यालय नजिकको हिलाम्य सडकमा ग्राभेलिङका लागि ढुङ्गा लिन गएको ट्र्याक्टर अक्करे भिरनजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सडकबाट करिब ५०० मिटर तल खसेर ट्र्याक्टर दुर्घटना भएको बताइएको छ । चालकसहित पाँच जना सवार ट्र्याक्टरमा रहेका दुई जना हामफालेर सकुशल बच्न सफल भएका छन् । ट्र्याक्टर चालक मानेभञ्ज्याङ गाउँपालिका–८ का २४ वर्षीय मिलन राई घाइते हुनुभएको छ । घाइते राईलाई उपचारका लागि मानेभञ्ज्याङतर्फ लगिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post