असोज २८, सोलुखुम्बु । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले दोहोरो मतदाता नामावली हटाउने क्रममा जिल्लाका ६४५ मतदाताको नामावली हटाएको छ । मतदाता नामावलीमा एकै व्यक्तिको नाम एकभन्दा बढी पटक समावेश भएको पाइएपछि नामावली अद्यावधिक गरी दोहोरो नाम हटाइएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोलुदुधकुण्ड नगरपालिकामा सबैभन्दा बढी १४८ मतदाताको नामावली हटाइएको छ । यस्तै, माप्य दुधकोशी गाउँपालिकामा १२५, थुलुङ दुधकोशी गाउँपालिकामा १०२, नेचासल्यान गाउँपालिकामा ७०, सोताङ र महाकुलुङ गाउँपालिकामा ५५÷५५, खुम्बु पासाङल्हामु गाउँपालिकामा ४८ तथा लिखुपिके गाउँपालिकामा ४२ मतदाताको नामावली हटाइएको छ ।
सूचना अधिकारी घिमिरेका अनुसार केही व्यक्तिले एउटै व्यक्तिको नाममा तीनदेखि चारवटासम्म मतदाता नामावलीमा नाम दर्ता गराएको पाइएको थियो । सोहीअनुसार दोहोरो नामावली पहिचान गरी हटाइएको उहाँले बताउनुभयो । मतदाता नामावलीलाई व्यवस्थित, अद्यावधिक र त्रुटिरहित बनाउने उद्देश्यले दोहोरो नाम हटाउने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।











Discussion about this post