असोज २८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५, सल्लेरीस्थित ह्वाइट हिल्स इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलले प्रकाश भुजेललाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको विषयमा सार्वजनिक रूपमा माफी मागेको छ । विद्यालयले उक्त विषयलाई लिएर सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा विभिन्न टीका–टिप्पणी र आलोचना भएपछि अन्ततः माफी माग्न बाध्य भएको हो । विद्यालय प्रशासनले एक प्रेस विज्ञप्ति जारी गर्दै क्त निर्णयबाट विद्यालयप्रति नकारात्मक सन्देश प्रवाह भएको तथा अभिभावक, विद्यार्थी, शुभचिन्तक र आम नागरिकमा असहजता उत्पन्न भएको स्वीकार गर्दै क्षमायाचना गरेको छ ।
विज्ञप्तिमा कथित झँक्री प्रकाश भुजेललाई आमन्त्रण गर्नुको उद्देश्य उनलाई मार्सल आर्ट बेल्ट ग्रेडिङसँग सम्बन्धित व्यक्तिका रूपमा कार्यक्रममा सहभागी गराउनु थियो । तर, उनको पृष्ठभूमि तथा यस विषयसँग जोडिएका सार्वजनिक संवेदनशीलताबारे पर्याप्त जानकारी संकलन र मूल्याङ्कन गर्न नसक्दा उक्त निर्णय भएको विद्यालयले स्पष्ट पारेको छ । यसमा आवश्यक सावधानी अपनाउन कमी भएको कुरा विद्यालय प्रशासनले स्वीकार गरेको छ ।
विद्यालयले आफूलाई शिक्षाको मन्दिरका रूपमा उल्लेख गर्दै विद्यार्थीमा अनुशासन, नैतिकता, सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको विकास गर्नु आफ्नो प्रमुख दायित्व भएको जनाएको छ। विद्यालयबाट आयोजना हुने हरेक कार्यक्रमले शैक्षिक मूल्य, सामाजिक मर्यादा र सार्वजनिक विश्वासलाई सम्मान गर्नुपर्नेमा पनि जोड दिएको छ । घटनाबाट प्राप्त सुझाव, आलोचना र प्रतिक्रियालाई सुधारको अवसरका रूपमा लिएको उल्लेख गर्दै विद्यालयले आगामी दिनमा प्रमुख अतिथि छनोट तथा अन्य कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यक्रमको उद्देश्य र सार्वजनिक संवेदनशीलतालाई ध्यानमा राखेर थप जिम्मेवार तथा सावधानीपूर्ण निर्णय प्रक्रिया अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
विद्यालयले घटनाबाट कुनै व्यक्ति, संस्था वा समुदायको भावनामा चोट पुगेको भए पुनः हार्दिक क्षमायाचना गर्दै अभिभावक, विद्यार्थी तथा शुभचिन्तकको विश्वास र सहयोगलाई सम्मान गर्ने जनाएको छ। ह्वाइट हिल्स स्कुलका प्रिन्सिपलद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यालयको उद्देश्य विद्यार्थीको सर्वाङ्गीण विकास र शैक्षिक उन्नयनमा योगदान पु¥याउनु रहेको उल्लेख गर्दै आगामी दिनमा अझ जिम्मेवार ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।










Discussion about this post