असोज २९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम उल्लेख भएको विवरणमध्ये आयोजकका रूपमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रम गाउँपालिकाको मुक्लीस्थित सभाहलमा सम्पन्न भएको हो।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष सविता राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण मन्त्रालयका सहसचिव तथा सूचना अधिकारी कृष्ण गिरिले गर्नुभएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो। कार्यक्रममा सुशासनको अवधारणा, सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता, जिम्मेवारीबोध तथा स्थानीय तहको प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा कार्यवाहक अध्यक्ष राईले स्थानीय तहबाट प्रवाह हुने सेवालाई सरल, सहज, पारदर्शी र नागरिकमैत्री बनाउन जनप्रतिनिधि तथा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। सुशासनका सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्दै नागरिकप्रति उत्तरदायी र प्रभावकारी स्थानीय शासन प्रणाली निर्माण गर्न कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।










Discussion about this post