असोज ३०, सोलुखुम्बु । दुर्गा पक्ष अर्थात् बडादशैँको नवरात्रअन्तर्गत आज छैटौँ दिन नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विशेष पूजा गर्ने वैदिक सनातन परम्परा रहेको छ। धार्मिक मान्यताअनुसार कात्यायनी देवीले देवताहरूको कार्य सिद्ध गर्न कात्यायन ऋषिको आश्रममा सुन्दर कुमारीका रूपमा अवतार लिनुभएको थियो।
देवीको बालसौन्दर्यबाट प्रभावित ऋषि कात्यायनले उहाँलाई पुत्रीका रूपमा स्वीकार गर्नुभएको र त्यसैका आधारमा देवीको नाम कात्यायनी रहेको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ। शास्त्रीय मान्यताअनुसार कात्यायनी देवीलाई दानवको संहार गर्ने शक्तिस्वरूपा देवीका रूपमा पूजा गरिन्छ। उहाँको पूजा आराधनाले शक्ति, साहस र विजय प्राप्त हुने धार्मिक विश्वास छ।
नवरात्रका नौ दिनसम्म दुर्गा भवानीका विभिन्न स्वरूपको पूजा आराधना गर्ने परम्पराअनुसार आज पनि देशभरका दुर्गा मन्दिर, दसैँ घर तथा पूजा कोठामा श्रद्धालु भक्तजनले कात्यायनी देवीको पूजा आराधना गरिरहेका छन्। नवरात्रमा देवी दुर्गाका विभिन्न स्वरूपको उपासना गरी शक्ति, समृद्धि, सुख र शान्तिको कामना गर्ने धार्मिक परम्परा रहिआएको छ।










Discussion about this post