असोज ३०,सोलुखुम्बु। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकीले जिल्लाको भौगोलिक विकटता, सीमित जनशक्ति तथा साधनस्रोतका बाबजुद शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान गर्न र विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन प्रहरी प्रतिबद्ध रहेको बताउनुभएको छ। ७१औँ प्रहरी दिवस, २०८३ का अवसरमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उहाँले सरोकारवाला निकायहरूसँगको समन्वय र सहकार्यमा जनमैत्री प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जिल्लामा सडक पूर्वाधारको सहज पहुँच नहुनु र सवारीसाधनको पर्याप्त उपलब्धता नहुँदा समयमै प्रहरी परिचालन गरी सेवा प्रवाह गर्न चुनौती रहेको उल्लेख गर्नुभयो।
कठिन हिमाली भूभाग र सीमित स्रोतसाधनका बाबजुद प्रहरीले शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने, नागरिकको जीउधनको सुरक्षा गर्ने र विपद्का समयमा उद्धार तथा प्रतिकार्यका काम गर्दै आएको उहाँको भनाइ थियो। प्रविधिको विकाससँगै साइबर अपराध, आर्थिक अपराध तथा अनलाइन ठगीजस्ता प्रविधिमा आधारित अपराधसमेत बढ्दै गएको उल्लेख गर्दै प्रहरी नायब उपरीक्षक बुढाथोकीले यस्ता चुनौतीको सामना गर्न प्रहरीलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो।
उहाँले नेपाल प्रहरीले राज्यप्रति उत्तरदायी, कानुनप्रति प्रतिबद्ध र नागरिक सेवामा समर्पित संस्थाका रूपमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने, मानव अधिकारको संरक्षण गर्ने र विपद् व्यवस्थापन तथा उद्धारमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। विसं २०१२ को प्रहरी ऐनमार्फत संस्थागत स्वरूप प्राप्त गरेको नेपाल प्रहरीले नागरिक सेवामा निरन्तर योगदान पुर्याउँदै आएको उहाँको भनाइ थियो।
स्थानीय तह, विभिन्न सङ्घसंस्था, सञ्चारमाध्यम तथा आम नागरिकबाट प्राप्त सहयोगले जिल्लामा प्रहरी सेवा प्रवाहलाई सहज बनाउन महत्त्वपूर्ण योगदान पुगेको उहाँले बताउनुभयो। प्रहरीका कामकारबाहीलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा उहाँले राष्ट्र र नागरिकको सेवाका क्रममा जीवन उत्सर्ग गर्ने अमर प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्यपालनाका क्रममा घाइते तथा अपाङ्ग भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।
साथै उहाँले बहालवाला तथा पूर्वप्रहरी कर्मचारी, प्रहरी परिवार र अमर प्रहरीका परिवारजनमा प्रहरी दिवसको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारीबाट प्राप्त निर्देशनात्मक सम्बोधनप्रति आभार व्यक्त गर्दै उहाँले अमर प्रहरीको सम्झनामा कविता वाचन गर्नुहुने सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पाण्डेप्रति धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा सहभागी विभिन्न स्थानीय तह तथा सङ्घसंस्थाका प्रतिनिधिलाई समेत उहाँले धन्यवाद व्यक्त गर्नुभयो।











Discussion about this post