कार्तिक १४, सोलुखुम्बु । आगामी २०८४ सालमा हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले सञ्चालनमा ल्याएको ‘क्यान्डिडेट क्लब’ मा सोलुखुम्बुका ८ स्थानीय तहमध्ये ५ पालिकाका प्रमुख पदका लागि आवेदन परेको छ । रास्वपा जिल्ला कार्यसमिति सोलुखुम्बुका सभापति नारायणकाजी कार्कीका अनुसार थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्ष पदका लागि सबैभन्दा धेरै ३ जनाले आवेदन दिएका छन् ।
नेचासल्यान गाउँपालिकाको अध्यक्षका लागि २ जना तथा माप्य दूधकोशी, लिखुपिके गाउँपालिकाको अध्यक्ष र सोलुदूधकुण्ड नगरपालिकाको प्रमुख पदका लागि १÷१ जनाको आवेदन परेको छ । खुम्बु पासाङल्हामु, महाकुलुङ र सोताङ गाउँपालिकाको प्रमुख पदका लागि भने हालसम्म कसैको पनि आवेदन परेको छैन ।
प्रमुख पदसँगै वडा तथा उपप्रमुख पदमा पनि आवेदन पर्न थालेका छन् । थुलुङ दूधकोशीका ९ वडामध्ये ६ वटा वडाध्यक्षका लागि आवेदन परेको छ । माप्य दूधकोशी र खुम्बु पासाङल्हामुमा १÷१ वडाध्यक्षका लागि आवेदन परेको छ । त्यस्तै, नेचासल्यानमा उपाध्यक्ष र एक वडाध्यक्षका लागि तथा सोलुदूधकुण्ड नगरपालिकामा उपप्रमुख र एक वडाध्यक्षका लागि आवेदन परेको सभापति कार्कीले जानकारी दिनुभयो । सोताङ र लिखुपिके गाउँपालिकाका एक÷एक वडामा पनि वडाध्यक्षका लागि आवेदन परेको छ ।
रास्वपाले गाउँपालिकाका उम्मेदवार छनोटका लागि गत भदौ १ गतेदेखि र नगरपालिकाका लागि असोज २९ गतेदेखि क्यान्डिडेट क्लब खुला गरेको थियो । यसमार्फत पार्टीले आगामी निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट आवेदन संकलन गरिरहेको छ ।










Discussion about this post