कार्तिक १३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१, लेप्लुमा जन्मिनुभएका मिङमार सार्की शेर्पा पेशाले पथप्रदर्शक तथा पर्यटन व्यवसायी हुनुहुन्छ । आफ्नै ट्रेकिङ कम्पनी सञ्चालन गर्दै आउनुभएका शेर्पा नेपाल कियर कन्सर्न नामक सामाजिक संस्था स्थापना गरी लामो समयदेखि सामाजिक सेवामा समेत सक्रिय हुनुहुन्छ । शेर्पाको सामाजिक अभियान शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, बालबालिकाको विकास तथा भाषा र संस्कृति संरक्षणसम्म फैलिएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पपछि ‘न्यानो नाना र राम्रो छाना’ अभियानमार्फत पीडित परिवारलाई राहत तथा जस्तापाता वितरण गर्दै उहाँले सामाजिक सेवाको यात्रालाई अघि बढाउनुभएको थियो । त्यसयता सोलुखुम्बु र ओखलढुंगाका दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनदेखि नेचासल्यानका विद्यालयमा शैक्षिक सामग्री, पोशाक, प्रविधि र शिक्षक व्यवस्थापनमा सहयोग गर्दै आउनुभएको छ ।
उहाँकै पहलमा सगरमाथा आधारभूत विद्यालयमा शेर्पा मातृभाषाको पठनपाठन सुरु भएको छ । साथै, बृहत् ग्याल्पो लोसार आयोजना, श्याब्रु नृत्य प्रशिक्षण र विद्यार्थीलाई शेर्पा पोशाक वितरणमार्फत नयाँ पुस्तालाई आफ्नो भाषा तथा संस्कृतिसँग जोड्ने प्रयास गरिएको छ । विद्यालयमा बालबगैँचा निर्माणमा सहयोग गरेर बालबालिकाको सिर्जनात्मक विकासलाई समेत उहाँले प्राथमिकता दिनुभएको छ । २०८३ साल भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीपछि गोसाइँकुण्ड र कालिका क्षेत्रका प्रभावित नागरिकलाई दुई पटक राहत वितरण गर्ने अभियानमा पनि शेर्पा सक्रिय हुनुभयो । प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा र सोलार सामग्री उपलब्ध गराउन उहाँले सहयोग गर्नुभएको थियो ।
यसैगरी, रसुवाको आमाछोदिममा विपत्तिबाट प्रभावित समुदायको पुनःस्थापना र बालबालिकाको शिक्षा निरन्तरताका लागि ‘दीर्घकालीन शिक्षा तथा उज्यालो आमाछोदिम परियोजना’ अघि बढाइएको छ । फ्रान्सको ते देस्फो आरमार संस्थाको सहयोगमा करिब ६० लाख रुपैयाँको परियोजना प्रस्ताव गरिएको छ । भूकम्पपीडितको राहतदेखि बाढी प्रभावितको पुनःस्थापना, दुर्गम क्षेत्रको स्वास्थ्य सेवादेखि बालबालिकाको शिक्षा र शेर्पा भाषा तथा संस्कृति संरक्षणसम्मको उहाँको सक्रियताले सामाजिक सेवाप्रतिको निरन्तरता र प्रतिबद्धता देखाउँछ ।









Discussion about this post