कार्तिक १४, सोलुखुम्बु । देशका विभिन्न स्थानमा बिहीबार साँझदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज पनि देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। यस्तै, कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ।
हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात र कोसी तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हाल नेपालमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेषसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। आज अपराह्नदेखि भने यसको प्रभाव क्रमशः कमजोर हुँदै जाने महाशाखाले जनाएको छ। सम्भावित वर्षा, मेघगर्जन, चट्याङ तथा हिमपातलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।










Discussion about this post